लद्दाखमा भारतीय सेनासँग हिंसात्मक भिडन्त भएसँगै चिनियाँ सेनाले हिमालय क्षेत्रमा युद्ध अभ्यास तीव्र पारेको खुलेको छ ।
सोमबार राती लद्दाखमा २० जना भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक भिडन्तसँगै चिनियाँ जनमुक्ति सेनाको तिब्बत कमाण्डले सैन्य अभ्यास गरेको ग्लोबल टाइम्सले जनाएको छ ।
चिनियाँ जनमुक्ति सेनाले लामो दूरीको आर्टिलरी प्रणाली, जमनीबाट हावामा मार हान्ने मिसाइल सिस्टम, विशेष अप्रेटिभ फोर्स, आर्मी एभिएशन फोर्स, इलेक्ट्रिक काउन्टरमर्स फोर्स, इन्जिनियरिङ तथा एन्टी केमिकल वारफेयरको युद्ध अभ्यास गरेको छ।
यस्तै चिनियाँ सेनाले लामो दूरीको तोप, भू–हावा मिसाइल, विशेष अपरेटिभ फौज, इलेक्ट्रोनिक काउन्टरमेजर फोर्सलगायतका हातहतियार तैनाथ गरेको जनाएको छ।
समुद्र सतहदेखि ४७०० मिटरको उचाईमा यो अभ्यास गरिएको टाइम्सले जनाएको छ। अभ्यासमा हजारौं सैनिक तथा ट्ंयाक सहभागी रहेको जनाइएको छ।
रिपोर्टका अनुसार अभ्यासको प्रारम्भिक चरणमा सेनाले पहिलो पटक याे इलाकामा गुप्तचर बैठक पनि बसेको छ।
तर पिपुल्स लिबरेसन आर्मी (पीएलए) को पश्चिम कामाण्डका प्रवक्ता चाङ्ग शुईलीले विज्ञप्ति जारी गर्दै भारतले कडाईका साथ आफ्नो सैनिकलाई रोक्नुपर्ने र विवाद अन्त्य गर्नका लागि संवादको बाटोमा अगाडि बढ्नुपर्ने बताएका थिए।
चाङ्गले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो वाचा उल्लंघन गरेको छ र एकपटक फेरि नियन्त्रण रेखा पार गरेको छ। जानीबुझी चिनियाँ सेनालाई उक्साएर आक्रमण गरेको छ। जसका कारण दुवै पक्षबीच झडप भयो र यही नै हताहतीको कारण बन्यो। म माग गर्दछु भारतले आफ्ना सैनिकलाई कडाइका साथ रोकोस् र वार्तामार्फत् विवादलाई सुल्झाइयोस्।’
यद्यपि याे युद्धभ्यासले थप दुई देशबीच टकरावकाे स्थिति सृजना हुने निश्चित देखिन्छ। किन भने भारतले याे विवाद वार्ताकाे माध्यमबाट सुल्झाउन चाहेकाे छ। तर चिनियाँ पक्षले नमाने थप सेना परिचालन गरिने भारतीय सरकारले घाेषणा गरिसकेकाे छ।
भारतीय सेनाले भनेको छ, ‘भारत र चीनका सेना गलवान क्षेत्रबाट पछि हटेका छन्। भारतीय सेना देशको अखण्डता र संप्रभुताको रक्षाका लागि प्रतिबद्ध छ। भारतीय सेनाले दुवै देशका वरिष्ठ सैनिक अधिकारी तनाव कम गर्ने विषयमा वार्ता गर्नेछ।’
भारतले आफ्नाे सैनिकका साथै नेपालमा छुट्टि मनाइरहेका गोर्खाली सेनालाई भारतले फिर्ता बोलाएको छ।
भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टि मनाउन घर फर्किएका थिए। तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टि मनाइरहेका गोर्खालीलाई जागिरमा फर्किन आदेश दिएको हो।
भारतीय अखबारका अनुसार दुई दिन यतादेखि बुटवलको सुनौली बोर्डरबाट गोर्खाली सेना भारत प्रवेश गर्न थालेका छन्। नेपाल–भारत बोर्डरमा उनीहरूको थर्मल स्क्यानिङ भएको छ।
हाल भारतमा गोर्खाको ७ रेजिमेन्टअन्तर्गत ३९ बटालियन छन्।