१० दिनमै ‘डेक्सामेथासोन’ले कोरोना संक्रमितको ज्यान बचाउने बेलायती वैज्ञानिकको दाबी

यो ट्रायल अक्सफोर्ड युनिभर्सिटीको टिमले गरेको हो। यो ट्रायलमा अस्पतालमा उपचाररत २ हजार कोरोनाको बिरामीलाई डेक्जामेथासोन दिइएको थियो र ४ हजार जनासँग जसले यो औषधि पाएनन् उनीहरुसँग तुलना गरिएको थियो।

बेलायती विज्ञहरुले कोरोना भाइरस संक्रमितहरुलाई लो डोजको स्टेरोइड ट्रिटमेन्टले धेरै फाइदा पुग्ने दाबी गरेका छन्। ‘डेक्जामेथासोन’ नामक औषधिले कोरोना भाइरसका सिकिस्त बिरामीहरुलाई बचाउने विश्वास लिइएको छ।

डेक्जामेथासोन पहिलो पटक १९६० को दशकदेखि आर्थराइटिस र आस्थमाका लागि प्रयोग हुँदै आएको छ।

निक्कै सस्तो र सर्वसुलभ रुपमा उपलब्ध हुने उक्त औषधिले कोभिड–१९ बाट संक्रमित विरामीलाई समेत बचाउने सक्‍ने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। योसँगै कोरोनाविरुद्धको लडाइँमा बेलायतका वैज्ञानिकहरुले ठूलो सफलता हात पारेको बताइएको छ।

वैज्ञानिकहरुका अनुसार भेन्टिलेटरमा भएका बिरामीको मृत्यु हुने जोखिमलाई एक तिहाईले कम गर्ने तथा अक्सिजन सपोर्टमा रहेकाहरुको जोखिम पनि १/५ ले कम गर्ने वैज्ञानिकहरुको दाबी गरेको बीबीसीले जनाएको छ।

यो औषधि विश्वको ठूलो ट्रायल टेस्टिङ ट्रिटमेन्टको एक हिस्सा हो। जसमा यो औषधि कोभिड–१९ विरुद्ध काम गर्छ वा गर्दैन भनेर परीक्षण भइरहेका छन्।

वैज्ञानिकहरुले पाँचजनामध्‍ये चारजना उक्त अवस्थाको विरामीलाई निको पारेको दाबी गरेका अध्‍ययनमा उल्लेख गरेका छन्।

भेन्टिलेटरमा रहेका बिरामीमा हुने मृत्युको जोखिमलाई ४० प्रतिशतबाट २८ प्रतिशतमा ल्याउन सक्ने तथा अक्सिजन चाहिने बिरामीको मृत्युको जोखिमलाई २५ प्रतिशतबाट २० प्रतिशतमा झार्न सक्ने वैज्ञानिकको दाबी छ।

‘कोरोना संक्रमित २० बिरामीमध्ये १९ बिरामी त अस्पताल भर्ना नभइ निको हुन्छन्। अस्पताल भर्ना भएका पनि निको हुन्छन् तर, केहीलाई भने अक्सिजन वा भेन्टिलेटरको आवश्यकता हुन्छ। यी बिरामीहरु जोखिममा हुन सक्छन् जसमा डेक्जामेथासोनले सहयोग गर्ने देखिन्छ,’ बीबीसीले लेखेको छ।

WATCH: Delighted to announce the first successful clinical trial for a life-saving #coronavirus treatment- reducing mortality by up to a third & further protecting our NHS

This global first exemplifies the power of science- huge thanks to the team, @oxforduni & Jonathan Van-Tam pic.twitter.com/654oPIsT8t

— Matt Hancock (@MattHancock) June 16, 2020

यो ट्रायल अक्सफोर्ड युनिभर्सिटीको टिमले गरेको हो। यो ट्रायलमा अस्पतालमा उपचाररत २ हजार कोरोनाको बिरामीलाई डेक्जामेथासोन दिइएको थियो र ४ हजार जनासँग जसले यो औषधि पाएनन् उनीहरुसँग तुलना गरिएको थियो।

अध्ययनकर्ताका अनुसार यो औषधि बेलायतमा सुरुवाती चरणमा उपलब्ध भएको भए करिब ५ हजार जनाको जीवन बचाउन सकिन्थ्यो। निकै सस्तो र सर्वसुलभ यो औषधिको प्रयोगले धेरै संक्रमित देखिएका गरिब देशमा निकै राहत पुग्ने उनीहरुको दाबी समेत छ।

यता, बेलायत सरकारले आफूसँग २ लाख डेक्सामेथासोन रहेको र विरामीलाई उपलब्ध गराउने बताएको छ। यो औषधि विभिन्न अवस्थामा शरीर सुन्निएको असर कम गर्न प्रयोग भइसकेको छ र यसले त्यसबाट निम्त्याउने असरबाट बचाउन सहयोग गर्छ।

तर अब भने यसले कोरोनाका कारण हुने मानवीय क्षतिमा पनि अतुलनीय योगदान दिने विज्ञहरुले जिकिर गरेका छन्। उनीहरुले भनेका छन्, ‘जबजब शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिष्टम) ओभरड्राइभमा जान्छ, तब यो औषधिले कोरोना भाइरसँग लड्न मद्दछ गर्छ।’

प्रमुख अनुसन्धानकर्ता प्रा. पिटर हर्बीका अनुसार हालसम्म यही मात्र औषधिले तुलनात्मक रुपमा मृत्यु दर घटाउन सफल रहेको दाबी गरेका छन्। 

हार्बीले भनेका छन्, ‘यो अहिलेसम्मको एउटा मात्रै औषधि हो, जसले मृत्युदर कम गर्न सक्षम भएको छ। यसले विरामीलाई रामवाण झै काम गरेको छ, यो विश्‍वमा एक ठूलो सफलता हो।’

यस्तै अर्का मुख्य अध्ययनकर्ता प्रा। मार्टिन लान्ड्रेले  यो अध्ययनले भेन्टिलेटरमा उपचाररत ८ जना बिरामीमध्ये एकको ज्यान बचाउन सक्ने दाबी गरे। साथै अक्सिजन सपोर्टमा रहेका २० देखि २५ जनामा एकजनालाई बचाउन सकिन्छ। 

उनले भनेका छन्, ‘भेन्टिलेटरमा उपचाररत कोरोनाका हरेक आठ बिरामीमा एकजनाको जीवन बचाउन सकिन्छ। अक्सिजन दिएर उपचार गरिएका बिरामीका लागि यो औषधिको प्रयोग गरेर उपचार गर्दा २५ जनामा एक जनाको ज्यान बचाउन सकिन्छ।’

यस्तै ल्‍याण्ड्रेले यो औषधि विश्वव्‍यापी रुपमा उपलब्ध भएकाले अस्पतालका विरामीहरुले ढिलो नगरी पाउनु पर्ने तर्क गर्छन्। उनि भन्छन्, ‘यो औषधि विश्‍वव्यापी रुपमा सर्वसुलभ भएकाले अस्पतालका विरामीहरुले ढिला नगरी पाउनुपर्छ। यसले ३५ प्रतिशतको जीवन जोगाउँछ।  यो औषधिको उपचार करिब १० दिनसम्म गरिन्छ। यसको मूल्य ५ पाउन्ड रहेको छ। ३५ पाउन्ड जति खर्च भएमा जीवन बच्छ।’

उनका अनुसार अस्पतालमा उपचाररत बिरामीलाई ढिला नगरिकन यो औषधि दिन थालिहाल्नुपर्छ। ‘स्वासप्रस्वासमा कुनै पनि समस्या नदेखिएका बिरामीले यसको सेवन गर्नु हुँदैन। साथै कसैले पनि घरमै बसेर यसको प्रयोग पनि गर्नु हुँदैन।’

कोरोना भाइरसको विरुद्ध हाइड्रोक्लोरोक्विन पनि प्रयोग गरिएको थियो। तर, त्यसले विभिन्न असर तथा मुटुमा समस्या ल्याउने देखिएपछि प्रयोगमा आएको छैन। त्यसैगरी एन्टिभाइरल ट्रिटमेन्टका लागि रेमडिसिभर पनि प्रयोगमा आएको छ। यो चाहिँ कोभिड–१९ का बिरामीहरुलाई केही हदसम्म फाइदाजनक नै मानिएको छ। यो औषधि इबोलाको उपचारको लागि पनि प्रयोग भएको थियो। 

यसले कति दिनमा ठिक गर्छ र मृत्युदर कति घटाउँछ भन्ने स्पष्ट भएको छैन। साथै यसको थोरै उपलब्धता हुनु र मुल्य पनि तोकिएको छैन।

प्रकाशित मिति: : 2020-06-17 06:06:55

प्रतिकृया दिनुहोस्