बाँकेको कोहलपुर नगरपालिकामा एक जनाको करेन्ट लागेर ज्यान गएको छ।
मंगलबार विहान वडा नम्बर ११ को गोलपार्क नजिकै टाउन प्लानिङ क्षेत्रमा विद्युतीकरण गर्ने क्रममा करेन्ट लागेर स्थानिय शसिराम चौधरीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दका अनुसार उनी उक्त क्षेत्रमा विद्युतको लाइन विस्तारका लागि पोलमा चढेको बेला करेन्ट लागेर भुइमा लडेका थिए।
उनलाई थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक चौधरी टाउन प्लानिङ क्षेत्रमा विद्युतीकरणको जिम्मा लिएको ठेकेदार कम्पनी सेन्टर नेपाल इन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रा.लि.का कर्मचारी समेत हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।