पर्सामा थप तीन स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिलासहित १० जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए।
संक्रमण पुष्टि हुनेमा विन्दवासिनी गाउँपालिका ४ का २६, ३६, ३९ र ५६ वर्षका पुरुष, वडा नम्बर ३ का ३२ वर्षीया एक महिलासहित ३२ र ४० वर्षीय पुरुष, वडा नम्बर २ का ४३ वर्षीय दुई जना पुरुष गरी कुल ९ जना र एक जना पटेर्वा सुगौली २ का ४१ वर्षीय पुरुष रहेका छन्।
विन्दवासिनी गाउँपालिकाका ४३ र ३९ वर्षीय दुई जना स्वास्थ्य सहायक प्रमुख र एक जना अमरपट्टीस्वास्थ्य चौकीका ५६ वर्षीय सिनियर अहेबमा संक्रमण पुष्टि भएको छ।
तीनै जना वडा नम्बर ३ झौवागुठीस्थित विद्यालयको क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य निगरानीमा खट्ने गरेका थिए।
यस्तै सोमबार संक्रमण पुष्टि भएका मध्ये एक जना सोही क्वारेन्टाइनमा भान्सेको रुपमा खट्दै आएका झौवागुठीका एक व्यक्ति समेत रहेका छन्। अन्य ६ जना भने भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरु हुन्।
सो क्वारेन्टाइनबाट १८ जनाको जेठ २६ गते स्वाब संकलन गरिएको थियो। जसमध्ये १० जनामा संक्रमण पुष्टि भएको हो।