नेपालको संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत स्वीकृत

'नेपालको संविधान (दोस्रो) संशोधन विधेयक, २०७७' माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाको बैठकले सर्वसम्मत स्वीकृत गरेको छ ।

आज बसेका राष्ट्रियसभाका दुई वटा बैठकमध्ये पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो) संशोधन विधेयक, २०७७’ टेबुल गरेका थिए ।

१५ मिनेट स्थगित गरेर फेरि बसेको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान संशोधन विधेयक प्रस्तुत गरेकी थिइन् । त्यसपछि शुरु भएको सैद्धान्तिक छलफलमा सांसदहरूले नयाँ नक्सा जारी गर्नु ऐतिहासिक निर्णय भन्दै अब भूमि फिर्ता ल्याउने पहल गर्नुपर्ने बताएका थिए ।

छलफलमा भाग लिँदै सांसदहरू सुमनराज प्याकुरेल, मायाप्रसाद शर्मा, गोपीबहादुर सार्की अछामी, डा‍.विमला राई पौड्याललगायतले नयाँ नक्सा जारी गरेकोप्रति सरकारको कामको प्रशंसा गर्दै अब भूमि फिर्ता ल्याउन सबै एकजुट हुनुपर्ने बताए । त्यस्तै सांसद तारादेवी भट्ट, रमेशजंग रायमाझीलगायतले पूर्वदेखि पश्चिमसम्मकै गुमेका भूमि फर्काउन अब एकैपटक पहल गर्नुपर्ने बताए ।

सांसदहरूले बलियो प्रमाणका साथ अघि बढ्नुपर्ने भन्दै सकेसम्म चाँडो वार्ताको पहल गर्न सरकारलाई सुझाव दिए ।

विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै कानुन मन्त्री डा. तुम्बाहाङफेले प्रतिनिधिसभामा जस्तै सबैको एकमतले राष्ट्रियसभाबाट विधेयक पारित गरेर राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताइन् । उनले प्रतिनिधिसभाबाट विधेयक पारित भएसँगै ‘नेपालका सबै राजनीतिक दल राष्ट्रियताको सवालमा एक हुन्छन् भन्ने पुष्टि भएको पनि बताइन् । 

सरकारले सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा अनुसार संविधानको अनुसूची ३ सच्याउन संविधान संशोधन विधेयक ल्याइएको हो ।

प्रकाशित मिति: : 2020-06-14 16:55:46

प्रतिकृया दिनुहोस्