बन्दाबन्दीका बेला प्रदेश सरकारको लगानीमा खानेपानी ट्यांकी निर्माण भइरहेको छ।
गण्डकी प्रदेश सरकारको लगानीमा मस्र्याङ्दी गाउँपालिका –९ मा सिग्ले खानेपानी ट्यांकी निर्माण भइरहेको छ।
सानोठूलो गरी ५६ घनमिटरको ट्यांकी निर्माण भइरहेको मस्र्याङ्दी गाउँपालिकाले जनाएको छ। प्रदेश सरकारको एक घर एक धारा अभियानअन्तर्गत ट्यांकी निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका इञ्जिनीयर सुरेश गौतमका अनुसार निर्माणाधीन ट्यांकी पाँच र दश घनमीटरका दुईदुई तथा १२ र १४ घनमिटरका एकएक ट्यांकी निर्माण भइरहेको छ। सो ट्यांकी निर्माणका लागि प्रदेश सरकारको रु ६९ लाख ४७ हजार १६७ लागत लाग्ने उनको भनाइ छ। 'ट्यांकी निर्माण र पाइप बिच्छाउने गरी हालसम्म ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ' उनले भने।
मोती कन्स्ट्रक्सनले आयोजनाको निर्माण सम्झौता २०७६ साल फागुन २२ गते गरी आगामी असार मसान्तभित्र काम सक्ने अवधि तोकिएको थियो।
सम्झौतानुसार भने काम सम्पन्न नहुने देखिन्छ। ट्यांकी निर्माण सम्पन्न भएपछि वडाका भलामचोर, महथोक, तबै, ढाड र वनथोक गाउँका १५० घरधुरी लाभान्वित हुने जनाइएको छ। उक्त गाउँमा एक घर एक धारा जडान हुनेछन्।