समाजवादी पार्टीकी सांसद सरिता गिरीले आफूले संशोधन राखेपछि धेरैले फोहोरी गालीगलौज गरेको आरोप लगाएकी छिन्।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु हुने बितिकै संशोधन प्रस्ताव अस्वीकार गरेपछि बाहिरिएकी गिरीलाई पत्रकारहरुले सोधेको प्रश्नको संक्षिप्त उत्तर दिँदै उक्त कुरा बताएकी हुन्।
‘म महिलाको रूपमा बोल्दैछु। मैले संशोधन राखेपछि धेरैले फोहोरी गालीगलौज गरेर र मैले त्यसको सामना गरे। तर जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरेपछि या त मैले आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ भन्ने लाग्यो। महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म बाहिरिएको हुँ,’ उनले भनिन्।
उनले सांसदमाथि भएकाे व्यवहारलाई मूल्यांकन गरिएन भने यसको परिणाम अर्कै हुने चेतावनी समेत दिइन्।
‘राष्ट्रियताको नाममा एक महिला सांसदको नाममा भएको व्यवहारको मूल्यंकन गर्नुभएन भने बाटो अर्को तिर पनि मोडिन सक्छ। नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो? पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्यो। महिलाहरूले निर्माण गरेका थिए’, उनले भनिन्।
उनले आफूमाथिको गालीगलौज महिलामाथिको हिंसा भएको उल्लेख गर्दै आफूले महिला अधिकारको लडाईलाई अझ बलियो पार्ने बताइन्। यस्तै उनले आफ्नै पार्टीको औचित्यमाथि प्रश्न उठाएकी छिन्।
‘आदिवासी, जनजाति, दलित, मधेसी र महिलालाई समावेश गरेर समावेशी राष्ट्रवाद कायम नगर्ने हो भने जनता समाजवादी पार्टीको औचित्य के’, उनले प्रश्न गरिन्।
उनले नक्सा सम्बन्धी संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गर्दा पार्टीभित्र कुनै छलफल नभएको जिकिर गरिन्।