सभामुखले बाेल्न नदिएपछि संसद बैठक छाडेर बाहिरिइन् सरिता गिरी

संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी जनता समाजवादी पार्टी (जसपा) की सांसद सरिता गिरीलाई संसदमा बोल्न नदिएपछि उनी संसद बैठकबाट बाहिरिएकी छन्।

सभामुख अग्नि सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी हुन्।

गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी थिइन्। तर संशोधन प्रस्ताव अस्वीकृत भएपछि सांसद गिरी बोल्नका लागि उठेकी थिइन्। तर सत्तापक्षका सांसदले होहल्ला गरेपछि सभामुख सापकोटोले संशोधन प्रस्ताव प्रक्रिया नपुगेकाले अस्वीकृत गरेको जानकारी गराउँदै बोल्न समय नदिइएको बताए।

सभामुख सापकोटाले सुरुमा सरिता गिरीलाई छोटोमा कुरा राख्न भनेका थिए। तर होहल्ला भएपछि रुलिङ गरेका हुन्। त्यसपछि गिरी संसद भवन बाहिर निस्किएकी छन्।

समाजवादी पार्टीले सांसदहरूलाई संविधान संशोधनको पक्षमा उभिन ह्विप जारी गरेको छ। तर उनले ह्विप नमान्ने बताइसकेकी छिन्।

प्रकाशित मिति: : 2020-06-13 14:10:30

प्रतिकृया दिनुहोस्