सभामुखले गरे सरिता गिरीको संशोधन अस्वीकृत गर्ने निर्णय

समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन विधेयकमा राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन्।

संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन्। तर सभामुख अग्निप्रसाद सापकोटाले उनको संशोधनलाई अस्वीकृत गरेको जानकारी दिए।

प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेकेा सभामुख सापकोटाले बताए। नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ।

मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ। दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित गरिँदै छ।  यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन्।

समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको थियो भने नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे संविधान संशोधन विधेयकको पक्षमा मत दिन पार्टीका सांसदहरूलाई हृविप समेत जारी गरेको छ।

सांसद गिरीले भने यसबारे सोचेर संसदमा जानकारी दिने दललाई बताएकी थिइन्।

प्रकाशित मिति: : 2020-06-13 13:54:17

प्रतिकृया दिनुहोस्