कोरोनाको महामारीग्रस्त क्षेत्रका सांसद्लाई पनि भेट दिँदैनन् स्वास्थ्यमन्त्री ढकाल (भिडियाेसहित)

कोरोना संक्रमण तीव्र हुँदै जाँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अति संक्रमित जिल्लाका सांसद्सँग भेटघाट र छलफल त परको कुरा, फोनसमेत उठाउन छाडेका छन् । 

संक्रमणको सबैभन्दा चपेटामा परेको दैलेखका सांसद्हरुले उनलाई भेट्न र फोनमा संवाद गर्न गरेको प्रयास पनि असफल भएका छन् । दैलेखका सांसद् राजबहादुर बुढाले आफ्नो सम्पर्क गर्ने प्रयास असफल भएको बताए । 

करिब १३ हजारभन्दा बढी भारतबाट फर्केका नेपालीको व्यवस्थापन गर्न नसक्दा भयावह अवस्थामा पुगेको दैलेखका तीन जना सांसद् छन् । प्रकोप प्रभावित अन्य जिल्लाका सांसद्को भोगाइ पनि उस्तै छ । अनावश्यक मान्छेसँग गफ चुटेर बसे पनि आफूहरुलाई समय नदिने र ठूला कुरा मात्र गर्ने उनकै गृहजिल्ला तेह्रथुमका एक नेताले दिक्दारी व्यक्त गरे । मन्त्रीभन्दा उनको पीए झन् ठूलो मान्छे रहेको ती सांसद्ले बताए ।

उता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि समन्वयको अभाव र विवाद उत्कर्षमा पुगेको छ । स्वास्थ्य मन्त्रालय नेपाली सेनाको छायामा परेको बताउँदै मन्त्रालयका अधिकांश कर्मचारीहरू असन्तुष्ट छन् । उच्चतहका कर्मचारीहरू  स्वास्थ्यमन्त्रीले सम्बन्धित क्षेत्रका विज्ञको कुरा नसुनी मनपरी निर्णय गरेको गुनासो गर्छन् ।

मन्त्रालयका अधिकांश कर्मचारी मन्त्रीले काम गर्न नदिएकोमा दिक्दार छन् । उनले त्यहाँको कर्मचारीतन्त्रको चेन अफ कमाण्डसमेत मिचेर सचिव सहसचिवलाई बाइपास गरी तल्लो तहका कर्मचारीलाई काम गराउन खोज्दा कर्मचारीतन्त्र विथोलिएको एक कर्मचारीले जानकारी दिए । 

प्रकाशित मिति: : 2020-06-15 11:02:00

प्रतिकृया दिनुहोस्