१० अर्बको हिसाब-किताब चाँडै सार्वजनिक हुन्छ: उपप्रधानमन्त्री

उपप्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि भएको खर्च छिट्टै  सार्वजनिक गरिने बताएका छन्। सरकारले कोरोना महामारी नियन्त्रणका लागि हालसम्म १० अर्बभन्दा बढी खर्च गरेकाे बताउँदै आएकाे छ।

एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारका तर्फबाट विभिन्न शीर्षकमा निकासा भएको र  प्रदेश सरकार र स्थानीय तहले पनि आफ्ना कोषबाट कोरोनाविरुद्ध खर्च गरेको उल्लेख गर्दै उनले सरकारबाट यसको समग्र फाँटबारी छिट्टै सार्वजनिक हुने जानकारी दिएका हुन्।  

कोरोना संक्रमण नियन्त्रणका नाममा भएको खर्च विवरण सरकारी बेवसाइट र सूचना पोर्टलमा अद्यावधिक छैन। सरकारले कुन कुन स्वास्थ्य सामग्री कति खरिद गर्‍यो, त्यसको दर के हो, कुन कम्पनीले ठेक्का पायो, कुनै पनि विवरण सार्वजनिक गरिएको छैन। मास्क, सेनिटाइजर, थर्मल गनजस्ता सामग्री संघीय सरकारले खरिद गरेको छ भने समानान्तर रूपमा स्थानीय तहहरुले पनि खुद्रे रूपमा बजारबाट उठाएका छन्। 

हाल नेपालले गरिरहेको पिसिआर टेष्ट दक्षिण एशियाका धेरै मुलुकको भन्दा अधिक भए पनि सरकारले पिसिआर टेष्टको दायरा थप बढाउने निर्णय गरिसकेको उल्लेख गर्दै उनले एक महिना यता विदेशबाट भित्रिने नेपालीको सङ्ख्या ह्वात्तै बढेर क्वारेन्टाइनको व्यवस्थापनमा केही समस्या देखिए पनि तिनको निरन्तर सुधार गर्दै जान सरकार प्रतिबद्ध रहेको बताए। 

प्रकाशित मिति: : 2020-06-13 06:15:31

प्रतिकृया दिनुहोस्