कुवेतबाट ७ जना बालबालिकासहित १ सय ४९ जना नेपाली महिला कामदार नेपाल आइपुगेका छन्। कुवेत सरकारले जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको उडानमार्फत उनीहरुलाई शुक्रबार नेपाल पठाएको हो।
कुवेतले पठाएको यो तेश्रो उडान हो। गैरकानुनी रुपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारलाई कुवेत सरकारले पठाएको हो। उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेको हो। यसको सबै खर्च कुवेतले नै बेहोरेको हो।
उनीहरु सबैलाई भक्तपुरमा स्थपना गरिएकाे ‘होल्डिङ सेन्टर’मा लगिएकाे छ।
यसैगरि कुवेतले शनिबारका लागि पनि थप दुई उडानकाे अनुमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
यसअघि बिहीबार बिहान कुवेतबाट दुई वटा उडानमा गरी २ सय ६ जना नेपाली महिला कामदार नेपाल फर्किएका थिए।