काठमाडाैंमा लकडाउन उल्लङ्घन, ४१ सय सवारीसाधन नियन्त्रणमा

ट्राफिक प्रहरीले लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिइएको  छ। महानगरिय ट्राफिक प्रहरी महाशाखाले विना काम, विना पास र अत्यावश्यक काम बाहेक चलाइएको ४१ सय सवारीसाधनलाई नियन्त्रणमा लिएको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार मंगलबार मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ३६ सय ४७ वटा २ पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे गरि जम्मा ४१ सय ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। 

‘आज विहान ६ बजे देखि बेलुका ७ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो।’

लकडाउनमा विना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोनाबाट बच्न गरिएको आग्रह लत्याउँदै विना काम बजार घुम्न, आफन्त भेट्न र रमाइलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएपछि त्यस्ता सवारी साधन नियन्त्रणमा लिनु परेको ढकालले बताए।

यस्तै उनले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकहरूमा ट्राफिक प्रहरी परिचालन गरि चेकजाँचमा कडाई गरिएको जानकारी दिए।

उनले लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडी नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेका छन्।

केहि दिन यता लकडाउन खुकुलो भएको ठान्दै सडकमा चहलपहल बढेपछि पुनः अझ बढी कडाई गर्न थालेको र पासको दुरूपयोग गर्ने उपर पनि महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए।

उनले काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ६१,४०६ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको बताए।

प्रकाशित मिति: : 2020-06-09 20:30:47

प्रतिकृया दिनुहोस्