जागिरबाट जबर्जस्ती निकालेपछि आफ्नै शरीरमा आगो लगाएका युवकको मृत्यु

अछामको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका युवकको उपचारको क्रममा मृत्यु भएको छ।

गम्भीर घाइते भएका साँफेबगर नगरपालिका-६ का सिद्धार्थ आउजीको सोमबार साँझ कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको हो।

घाइतेसँगै गएका मीनबहादुर बोहराले दिएको जानकारी भन्दै  साँफेबगर-६ का वडाध्यक्ष प्रेमबहादुर शर्मा जानकारी दिए।

सोमबार बिहान साढे आठ बजे आउजीले बयालपाटा अस्पताल परिसरमा आफैंमाथि आगो लगाएका थिए। उनी सो अस्पतालका सरसफाइ गर्ने कर्मचारी थिए।

गत जेठ १२ गते अस्पतालले खर्च थेग्न नसक्ने भन्दै उनीलगायत ३३ कर्मचारीलाई जागिरबाट निकालिदिएको थियो।

दुई सन्तानका पिता सिद्धार्थ सहित अस्पतालबाट निकालिएका ३३ जनाले जागिर थमौतीका लागि हारगुहार गर्दै विभिन्न निकाय धाएका समेत थिए।

साँफेबगर नगरपालिकाले पनि उनीहरूमाथि अन्याय भएको भन्दै विज्ञप्ति निकालेको थियो।

नगरपालिकाका मेयर कुलबहादुर कुँवरले सरोकारवाला निकायसँग कुनै छलफल नै नगरी कर्मचारी निकालिएको भन्दै विज्ञप्ति जारी गरेर आपत्ति जनाए।

‘विश्व कोरोना महामारीको चपेटामा रहेको अवस्थामा स्वास्थ्यकर्मीको निकै आवश्यकता छ। यस्तो बेला स्वास्थ्यकर्मीलाई अवकाश दिनु उत्तम मान्न सकिँदैन’, नगरको विज्ञप्तिमा भनिएको छ।

नगरपालिकाले अस्पतालमा विद्यमान आर्थिक संकट समाधानका लागि विकल्प खोज्ने वचनसमेत दिएको थियो। त्यसका लागि राष्ट्रिय स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै सरोकारवाला पक्षसँग छलफल गरेर जिल्लाभित्र र बाहिरका स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारसँग बजेट माग गर्ने विकल्प बाँकी नै थियो।

त्यसका लागि पहल गर्ने वचन नगरपालिका प्रमुखले दिएका थिए। उनले अस्पताल प्रशासनलाई कर्मचारीलाई सेवाबाट नहटाउन आग्रह गरेको थियो। तर अस्पताल प्रशासनले त्यो कुरा सुन्दै सुनेन।

जिल्ला समन्वय समितिले पनि कोरोनाले महामारी र स्वास्थ्यकर्मी अभाव भइरहेको अवस्थामा करार अवधि थप गर्न आग्रह गरेको थियो। सरोकारवाला निकायसँग छलफल गरी समन्वय समितिले ‘करार नवीकरण नहुने प्रक्रियालाई स्थगित’ गर्न आग्रह गरेको थियो।

करारको अवधि पनि अझै २ महिना बाँकी नै थियो। त्यही आशाले डोहोरिएर सिद्धार्थ सोमबार बिहानै अस्पताल पुगेका थिए।

तनाव र अनिश्चयले गलिसकेका उनले अस्पतालको गेटतिर गएर आफ्नो शरीरमा आगो लगाएका थिए।

आगो लागेपछि गम्भीर घाइते भएका उनको उपचारका लागि हेलिकप्टरबाट कोहलपुर लगिएको थियो।

प्रकाशित मिति: : 2020-06-08 18:01:19

प्रतिकृया दिनुहोस्