महोत्तरीमा करिब नौ लाख वृक्षरोपण गरिने भएको छ । यसवर्ष वृक्षरोपणका लागि करिव आठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाइ बिरुवा उत्पादन गरिएको छ । भूक्षय (भूस्खलन) रोक्न, घाँस–दाउराको आपूर्ति गर्न, काठ प्रयोजन र फलफूल उत्पादनसहितको लक्ष्यसहित विभिन्न जातका बिरुवा तयार गरिएको सो कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले बिहीबार जानकारी दिइन् । उत्पादित बिरुवामा घाँस प्रयोजनका टाँकी, किम्बु, बकाइनो, काठ प्रयोजनका लागि टिक, जामुन, खयर, फलप्रयोजनका लागि कटहर, आँपसहितका रहेका छन् ।
मागबमोजिम लगत (अभिलेख) तयार गरी एक लाख वितरण गरिएको कार्यालयले जनाएको छ । सर्वसाधारणले जग्गा देखाएर माग गरेपछि कार्यालयले बिरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ । यसपालि वन क्षेत्रका नाङ्गा डाँडा, जिल्लाका स्थानीय तह र सर्वसाधारणले माग गरेबमोजिमको क्षेत्रमा रोपण गरिने सोे कार्यालयले जनाएको छ ।
जिल्लाका जलेश्वर, माईस्थान, लक्ष्मीनियाँ, बेलगाछी खाल्टेबजार र बनराथारुटोलसहित छ ठाउँमा सो कार्यालयले बिरुवा उत्पादन गरेको छ । नदी किनारका उकास जग्गा, सार्वजनिक जग्गा, गल्छीपहिरो र स–साना पहाडी शृङ्खलाका नाङ्गाडाँडामा कार्यालयले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र सामाजिक सङ्घसंस्थाको समेत समन्वय र सहभागितामा नयाँ वृक्षरोपण गर्ने जनाएको छ ।
‘खाली जग्गा, सडक छेऊ र सार्वजनिक जग्गामा रोपौँ रुख, यसले ल्याउँछ सुखै–सुख’ भन्ने नारा नै तय गरेर वृक्षरोपणका लागि अभियान नै सञ्चालन गरिने डिभिजन प्रमुख साहको भनाइ छ । कार्यालयले सर्वसाधारणलाई निजी जग्गाको वृक्षरोपणमा प्रेरित र उत्साहित गराउन निःशुल्क बिरुवा उपलब्ध गराउने, रोपण कार्यमा प्राविधिक सल्लाह परामर्श दिने र नियमित अनुगमन गरिने व्यवस्था मिलाएको स्पष्ट पारेको छ ।