रुकुम घटना दलितविरुद्ध ‘योजनाबद्ध हत्याकाण्ड’ भन्दै  का‌ंग्रेस सांसद्ले बढाए सक्रियता, संसदीय छानबिन गर्न सभामुखलाई ज्ञापन

रुकुमको चौरजहारी नगरपालिका–७, सोतीमा गत जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनालाई दलितविरुद्ध योजनाबद्ध रुपमा गरिएको ‘हत्याकाण्ड’ भन्दै कांग्रेसका दलित सांसदहरुले सक्रियता बढाएका छन् । 

घटनाबारे ‘जुम मिटिङ’ गरेर एउटै आवाज बनाएर प्रतिनिधिसभामा कडा रुपमा प्रस्तुत भएका दलित सांसद्हरुले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटी संसदीय छानबिन विशेष समिति गठन गर्न दबाब दिएका हुन् । 

कांग्रेस नेता मानबहादुर विश्वकर्मा र मीनबहादुर विश्वकर्माले नेतृत्व गरेको प्रतिनिधिसभाका दलित सांसद्हरूको एक प्रतिनिधिमण्डलले सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै रुकुम–पश्चिम घटनाबारे दलित सांसद्हरुको बहुमत हुने गरी छानबिन समिति बनाउन माग गरेका हुन् । छलफलमा नेकपाका प्रमुख सचेतक देव गुरुङ पनि थिए । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा कांग्रेस सांसद्हरू मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, विमला नेपाली, लक्ष्मी परियार, प्रकाश रसाइली स्नेही, सुजाता परियार, रणबहादुर रम्तेल लगायतको टोलीले सभामुखलाई लिखित ज्ञापनपत्र बुझाउँदै ‘सर्वदलीय संसदीय विशेष छानबिन समिति’ गठन गर्न माग गरेको हो । ज्ञापनमा नेकपाका दलित सांसद्हरुको नाम लेखिएको भए पनि हस्ताक्षर भने छैन । 

चौरजहारी–७, सोतीमा जेठ १० गते नवराज बिकले स्थानीय मल्लकी छोरीसँग विवाह गर्न भनी लिएर गएका १८ जना युवा–समूहमाथि केटी पक्षबाट भएको आक्रमण हुँदा छ जनाको ज्यान गएको थियो । केटी पक्षबाट आक्रमण हुन थालेपछि ज्यान जोगाउन भेरी नदीमा हाम्फाल्दा चार जना दलित र दुई गैरदलित युवकको मृत्यु भएको थियो । 
मृत्यु हुनेमा चार जना दलित युवाहरु नवराज बिक, लोकेन्द्र सुनार, सञ्जु बिक, टीकाराम सुनार रहेका छन् भने गैरदलित युवाद्वय गणेश बुढा र गोविन्द शाहीको पनि नदीमै शव भेटिएको हो ।

ज्ञापनपत्र बुझाउने क्रममा बोल्दै सांसद मानबहादुर विश्वकर्माले भने, ‘हामीलाई थप कडा पार्न बाध्य नपारियोस् । यदि दलित सांसद्को नेतृत्वमा बहुमत दलित हुने गरी छानबिन विशेष समिति गठन गरिएन भने हामी थप कडा हुन बाध्य हुने छौँ ।’ उनले गृहमन्त्री रामबहादुर थापा र महान्यायाधिवक्ता अग्नि खरेलले यसअघि कानून समितिमा दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका थिए । 

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले भने, ‘तपाईंहरुले उठाउनुभएको विषयप्रति म सकारात्मक छु । पहल जारी राख्नुस् । समिति गठन हुनु मात्र ठूलो कुरा होइन, यसले राम्ररी काम पनि गर्न सक्नुपर्छ । म यो विषय दलहरुका प्रतिनिधिसमक्ष राखिदिन्छु ।’

उक्त घटना भएपछि यसलाई दलितविरुद्ध गरिएको नरसंहार भन्दै दलित सांसद्हरू संगठित हुने प्रयास गरेका छन् । जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा जानुअघि पनि कांग्रेस नेता मीन विश्वकर्माको पहलमा बहुसंख्यक दलित र केही साविक माओवादीका गैरदलित सांसद्हरूबीच ‘जुम मिटिङ’ गरी घटनाबारे छलफल गरेका थिए । उक्त छलफलमा घटनालाई ‘दलितविरुद्धको नरसंहार’ भनेर एकमत भएर संसद्मा आवाज उठाउने सहमति भएको थियो । 

प्रतिनिधिसभाका यसअघिका दुई वटा बैठकमा कांग्रेसका दलित सांसद्हरुले आक्रोश पोखेका थिए । यसै साता भएको प्रतिनिधिसभाको कानून समितिको बैठकमा गृहमन्त्री थापा र महान्यायाधिवक्ता खरेलले प्रहरीले छानबिन गरिरहेको र घटनामा चार जना दलित र दुई जना गैरदलितको मृत्यु भएकाले ‘दलितविरुद्धको अपराध’ भन्न नमिल्ने अभिव्यक्ति बताएका थिए । 

घटनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले छानबिन गरिरहेको छ । घटनालाई राजनीतिक रंग नदिई अपराधीलाई  कानूनको कठघरामा ल्याउने प्रतिबद्धता जनाएका थिए । 
 

प्रकाशित मिति: : 2020-06-04 22:03:14

प्रतिकृया दिनुहोस्