रौतहटको राजपुर नगरपालिकास्थित स्वास्थकर्मीहरु सबै सेवा ठप्प गरी आन्दोलनमा उत्रिएका छन्।
स्वास्थकर्मीमाथि हातपात गर्ने दोषिलाई कारबाही र शान्ति सुरक्षाको माग गर्दै बिहिबार बिहानदेखि स्वास्थकर्मी आन्दोलनमा उत्रिएका हुन्।
नगर क्षेत्र अन्तर्गतको सबै क्वारेन्टाइन,आईसोलेसन र उप स्वास्थचौकी तथा प्राथमिक स्वास्थ केन्द्रको सेवासमेत बन्द भएको नगर स्वास्थ संयोजक रविन्द्र कुमार झाले जानकारी दिए।
आज बिहान १० बजे कार्यालय समयमा नगरपालिकामा सबैजना स्वास्थकर्मी जम्मा हुने र एउटा ठोस निर्णय गर्ने संयोजक झाले बताए।
आफुहरूमाथि हातपात भएको विषयमा नगरक्षेत्र भरिका स्वास्थकर्मीले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउने योजना रहेको संयोजक झाले बताए।
पिसीआर रिपोर्ट निगेटिभ आएका क्वारेन्टाइनमा बस्नेलाई घर पठाउनुअघि गरिएको आरडिटी चेकमा बुधबार रिपोर्ट पोजिटिभ आएपछि आक्रोशित समूहले स्वास्थकर्मीमाथि आक्रमण गरेका थिए।
क्वारेन्टाइनमा बस्नेको आक्रमणबाट नगर स्वास्थ सह संयोजक रामनरेस साहसहित दुई स्वास्थकर्मीको टाउको फुटेको छ। आक्रोशित समूहले स्वास्थकर्मीको तीन वटा मोटरसाइकलमा क्षति पुर्याएका छन्।
घटनालगत्तै नगरक्षेत्र अन्तर्गत क्वारेन्टाइनलगायत सबै स्वास्थ सेवा बन्द भएको छ। राजपुर नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा हाल दुई हजार सात सय ११ जना छन्।
त्यसैगरी जिल्लामै सबभन्दा बढी राजपुर नगरपालिकामा ८३ जना कोरोना भाईरसको संक्रमित छन्। संक्रमित मध्ये केही गौर र अधिकांशको प्राथमिक स्वास्थ केन्द्र राजपुर र बैरिया मदर्सामा निर्माण भएको आईसोलेसनमा राखेर उपचार भइरहेको छ।