नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकासका लागि सरकारले चालेको कदम सकारात्मक भएको बताएको छ।
महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटले हस्तकला क्षेत्रको विकासमा सहयोग पुग्ने बताएको हो।
महासङ्घले विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको अवस्थामा सरकारले हस्तकला क्षेत्रलाई पूर्ववत् अवस्थामा लैजान चालेको कदम सकारात्मक भएको बताएको हो।
आव २०७७/०७८ को बजेटले हस्तकला क्षेत्रको विकास र विस्तारका लागि साना तथा मझौला उद्योगलाई प्राथमिकता दिएर राम्रो काम गरेको
महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताए।
'बजेटले हस्तकला क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम ल्याए पनि आयात प्रतिस्थापन गरी नेपाली कला तथा परम्परागत संस्कृति झल्कने हस्तकलाका सामग्रीलाई विश्व बजारमा प्रवद्र्धन गर्न बजेटले ठोस कार्यक्रम ल्याउन सकेन' उनले भने।
घरेलु तथा साना उद्योगमा कार्यरत कर्मचारीको तलब भुक्तानी तथा व्यवसाय सञ्चालनको लागि पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने निर्णय राम्रो भएको उनको भनाइ छ।
हस्तकला उद्योग व्यवसायमा हाल १० लाखभन्दा बढी व्यक्तिले प्रत्यक्ष्य तथा अप्रत्यक्ष्यरुपमा रोजगारी पाएका छन् भने वार्षिकरुपमा करिब रु १० अर्ब बराबरको निकासी हुँदै आएको छ।