अप्रिलको महिना। बिहानको समय। हल्का गर्मी थियो। बाटोहरू सबै मौन थिए। त्यो दिन आकाश रोइरहेको थियो। अर्थात, पानी परिनै रह्यो...। बाँकी जे जस्तो भए पनि रामकुमार ढुंगानाको मन भने पटक्कै शान्त छैन। कारण – बर्मा स्कुलमा कक्षा २ को नतिजा आउने दिन थियो।
रामकुमारको मुटु ढुक–ढुक भइरह्यो। आरके अर्थात् रामकुमारलाई लाग्थ्यो – छाना माथि जाउँ कि, खाट मुनि लुकौ। कता जाउँ, कता? यस्तै–यस्तै भएको त्यो बाल्यकालको पुरानो सम्झना वर्षौपछि – रामकुमारले सुनाए।
मोगाउँ शाखा, चानबारी प्रशाखा मिचिना (बर्मा) मा जन्मिएका रामकुमार अहिले थाइल्यान्डमा बसोबास गर्छन्। उनी थाइल्यान्ड बस्न थालेको २६ वर्ष भयो। रामकुमार यहाँ आएदेखि नै सामाजिक काममा सक्रिय छन्। उनी अहिले थाई नेपाली संघ, केन्द्रीय दुःख निवारण विभाग प्रमुखको महत्वपूर्ण भूमिकामा कार्यरत छन्।
परदेशको भूमि दुःख त कति हुन्छन् हुन्छन्। कोही बाटोमै मर्छन्। कोही कोही आपसमा लड्छन्। कतिपय काम नै पाउँदैनन्। धेरैलाई त उमेरको अपरिपक्कताले पनि दुःखको वातावरण सिर्जना गरिदिन्छ। आखिर जे भए पनि यी सबै काममा केन्द्रीय दुःख निवारण विभागले समन्वय गर्ने र दुःखको सहारा बन्ने कोशिस जारी राखिरहेको छ।
‘बिदाको समयमा गोर्खाली दाजुभाइ तथा दिदीबहिनीहरू मिलेर सरसल्लाह गर्ने र दुःख पाएकालाई सहयोग गर्ने गरेका छौ,’ रामकुमारले भने।
रामकुमारको विगत तनावपूर्ण र दुःख नै दुःखमा बित्यो। लेख्ने, पढ्ने रूचि थियो। माथिल्लो तहसम्म पढ्न चाहन्थे तर, घरको आर्थिक अवस्था नै रामकुमारको पढाईको तगारो बनिदियो। कक्षा २ मा फेल भएपछि आमाले ‘अब फेरि पढ्नु पर्दैन, गोठमा गएर बाउँलाई काममा सहयोग गर्नुपर्छ’ भनेको त्यो दिनको तितो संवाद उनलाई अहिले पनि याद छ।
आमाले पढ्न हुँदैन भने पनि आखिर रामकुमारको मन कहाँ मान्थ्यो र? उनको मनको इच्छा नै पढ्ने थियो। ‘पढ्छु-पढ्छु भन्दै म खुब रोएको थिएँ नि..., त्यो बेला, उनले आफ्नो विगत सम्झिए, ‘आमाको कोमल मनले सायद मेरो आँखामा आँसु देख्न सकेन र दिदीको साथीसँग पैसा मागेर पढ्न पठाइन्। खुशी हुँदै म पनि नयाँ कक्षाका, नयाँ पुस्तक पढ्ने सपना देख्न थालेँ।’
एउटा मानिसलाई दुःख पर्दा: अर्कोले सहयोग गर्नुपर्छ भन्ने अमूल्य शिक्षा आफूले त्यही दिन पाएको उनले बताए। ‘दिदीको सानो सहयोगले मैले अक्षर चिन्ने र पढ्ने सुनौलो अवसर पाए,’ रामकुमारले भने।
त्यो बेला दिदीको सहयोगमा मैले आँखा देख्ने र अक्षर चिन्ने मौका पाएका रामकुमारले आफू पनि भविश्यमा धेरै पढेर पाएको शिक्षामार्फत अरूको सेवा गर्ने मनसाय बनाइसकेका थिए।
जीवन फरक र अनौठो बाटो रहेछ। जहाँ हरेकले आ–आफ्नै तरिकाले यात्रा गर्नुपर्ने हुन्छ। रामकुमारका लागि पनि त्यस्तै बनिदियो जीवन। सोचे जस्तो भएन, चाहे जस्तो त झन् पटक्कै भएन। उनले कक्षा ६ सम्म मात्रै पढ्न पाए। १७ वर्षकै उमेरमा विवाह भयो। अब त सोचै बेग्लै। झन् कष्टकर र चुनौतिका दिनहरू सम्झन्थेँ र तनावमा हुन्थे।
‘सानो हुँदा भुतसँग डर लाग्थ्यो। बिहेपछि त गरिबीसँग डर लाग्न थाल्यो’, रामकुमारले आफ्नो विगत सम्झिए, ‘मेरो पढ्ने चाहना सबै टुट्यो। अनि मैले पैसा कमाउनका लागि काम गर्न थालेँ।’
नेपाली भाषाका जानकार उनले गाउँमै नेपाली मातृभाषा पढाउने अवसर पाए। गाउँमै अवसर आए पनि आर्थिक तनाबले थिच्दै गयो। अनेकन तर्क–बिर्तक सोच्दाँ–सोच्दैँ रामकुमार विदेशिने टुंगोमा पुगे।
सन् १९९३ अन्तिमतिर रामकुमार जन्मभूमि म्यान्मार (बर्मा) छोडेर कर्मभूमि थाइल्यान्ड प्रवेश गरे। यहाँ आएको केही समयपछि काम पाए। रातिमा फलाम कम्पनीमा काम गर्ने उनले त्यहाँ पाउनुसम्मको दु:ख पाए।
‘काम छैन, हातमा पैसा पनि छैन। घरमा पैसा मागेर हैरान दिनहुँ झगडा हुन्थ्यो। दिमागले काम नै गर्न छाडेको थियो, त्यो बेला आज पनि ताजै जस्तो लाग्छ’, उनले विगत सम्झिँदै भने।
त्यसपछि एक जना साथीको सहयोगमा उनले स्थानीय थाइ नागरिकको घरमा काम गर्ने मौका पाए। घरको काम ठिकै थियो। तर संयोगले घर मालिक्नी विश्वविद्यालयकी प्रोफेसर रहेछिन्। त्यो बेलासम्म पनि रामकुमारको पढ्ने इच्छा मरेको थिएन। त्यसपछि उनले आफूलाई पढ्ने रहर भएको कुरा घर मालिक्नीसमक्ष राखेका थिए। धेरैपछि उनको पढ्ने सपना साकार हुने छाँटकाट देख्न थाले र काममा पनि लगाब बढ्दै गएको उनले सुनाए।
रातमा घरको काम सकेपछि पढ्ने अवसर पाउँथे। रामकुमारले त्यसपछि थाई पढ्न र लेख्न थाले। ‘कहिलेकाहीँ भाग्यले पनि साथ दिँदोरहेछ, मेरो सानैदेखिको पढ्ने रहर यहाँ आएर पुरा भयो’, उनले विगत सम्झिँदै भने।
रामकुमारले त्यसपछि थाइल्यान्डका अस्पताल, प्रहरीकहाँ दुःख पाएर पुगेका नेपालीभाषीलाई भाषा अनुवादमा सहयोग गरे।
बिस्तारै आफूलाई साजिक सेवातर्फ डोहोर्याउँदै लगे। उनी अहिले बिभिन्न कारणले दुःख पाएका नेपालीसहितका व्यक्तिको सेवा गर्न सामाजिक काममा खटिएका छन्।
समाज सेवाले उनलाई अझ अगाडि बढ्ने प्रेरणा दियो। थाइल्याण्डमा बसोबास गरिरहेका गोर्खालीमाझ उनी परिचत हुन थाले।
थाई नेपाली संघको केन्द्रीय दुःख निवारण विभाग प्रमुखको जिम्मेवारी पाएका उनले थाइल्यान्डमा नेपाली भाषीलाई परेका हरेक समस्यामा साथ दिन थाले। समाधान निकाल्न थाले।
सन् २०१९ मा बर्मामा बाढी आउँदा दुःख पाएकालाई दुःख निवारण विभागको समूहसँग मिलेर सहयोग गरेका थिए। ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्र लिएर स्थानीय संघ संस्थासँग मिलेर सहयोगी भावनासहित उनी हिँडिरहेका छन्।
पछिल्लो समय चीनबाट सुरू भएको विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरसले थाइल्यान्ड पनि अछुतो छैन। सरकारले सम्भावित संक्रमण रोक्नका लागि गरेको लकडाउनले कयौं मानिसहरू समस्यामा परेका छन्।
कोरोना भाइरसबाट दुःख पाएकालाई रामकुमार सक्दो सहयोग गरिरहेका छन्। सहयोगका लागि ठाउँ–ठाउँमा पुगेर दुःख निवारण संघसँग मिलेर सहयोग गर्दै हिँडिरहेका रामकुमार भविश्यमा पनि जो कोहीले आफूजस्तो दुःख नपाओस् भनेर अहोरात्र खटिरहेका छन्।
दुःखलाई भविश्यको औजार बनाएका रामकुमार दुःखदेखि कहिल्यै आत्तिएनन्। सुन्दर भविश्यका लागि जन्मभूमी छोडेर कर्मभूमीमा रमाएका उनी अहिले समाजसेवालाई प्राथमिकता दिएका छन्।