‘लकडाउन’, भाइरस संक्रमण, मनोवैज्ञानिक त्रास, सीमा समस्या, अव्यवस्थित राज्य सञ्चालनलगायत कयौं समस्याको चपेटाका परिरहेका नेपालीले पछिल्लो साता एक डरलाग्दो अपराधको समाचार सुन्नुपर्यो- ‘रूकुम हत्याकाण्ड।’
यो हत्याकाण्ड इतिहासकै लामो गृहयुद्वको उद्गमथलो रूकुममा जातीय विभेदको जगमा भएको चरम अपराध हो।
यो विषयले सामाजिक सञ्जाल तातिरहँदा मलाई आफ्नो विगततर्फ फर्किन मन लाग्यो ।
मेरो जन्म जिल्ला बैतडीको तत्कालीन शिखरपुर गाविसमा हाम्रो घर थियो। हामी बाम्हण/पुरोहित परिवारका हौं। हाम्रा हजुरबुवाहरू गाउँका ठूला पुरोहित हुनुहुन्थ्यो।
‘तिमीहरु बाहुनको छोरी हौ। क्षेत्री वा दलितसँग खेल्न जानुहुन्न,’ हामीलाई भनिन्थ्यो।
त्यसताका जातीय विभेदको दबदबा त थियो नै, लैङ्गिक विभेद पनि उत्तिकै थियो भन्ने भेद माथिकै वाक्यांशले पनि खुलाउँछ।
मेरो बालमष्तिकले समातेर अहिलेसम्म ताजा राखेका केही विभेदपूर्ण प्रतिनिधिमूलक घटनाहरू यहाँ राख्ने अनुमति माग्छु।
ठ्याक्कै मिति याद छैन, २०५३/०५४ सालतिर होला। म ५/६ वर्षकी हुँदी हुँ। हाम्रो बारीमा माथि जंगलबाट आएको कालो पानीको पाइप जमिनमुनी थोरै गाडिएको थियो। त्यसको मूल कहाँ थियो, त्यो मलाई याद छैन। माथिल्लो गह्रामा ढुंगाले बनाएको पानीको धारा थियो। त्यहाँ हामी र माथिको एक परिवार पानी भर्थ्यौं। त्यहीँ धाराबाट बगेर तल्लो गह्रामा बग्ने पानीलाई भित्तामा केराका थामको धारा बनाइएको थियो। त्यहाँ हाम्रो घरदेखि केही टाढाबाट आउने पार्की थरका दलितहरू पानी थापेर लैजान्थे।
मैले बुझेसम्म त्यहीबेला दलितलाई पनि त्यस्ताखाले विभेद बुझेर वा नबुझेर सहर्ष स्वीकार थियो। तर, नयाँ पुस्तामा भने क्रान्तिकारी चेतको विकास हुन थालेको हुनुपर्छ। माओवादी जनयुद्वको शुरुवाती चरणले पनि युवाहरूमा क्रान्तिकारी चेतको विकास हुँदै थियो होला।
एक दिन बिहानै मेरी हजुरआमा तामाको गाग्री लिएर पानी थाप्न धारामा पुग्दा पार्की गाउँकै एक युवा जर्किनमा पानी थाप्दै रहेछन्। म पनि हजुरआमासँगै गएकी थिएँ।
धारामा दलित देखेपछि मेरी शान्त हजुरआमा यसरी उम्लिइन् कि, अहिले पनि उहाँको त्यो अनुहार सम्झिँदा डर लाग्छ। हजुरआमाले बारी छेउको जंगल फाँडेर सुकाइएको काँडैकाँडा भएको ठूलो घङ्गरूको लौरो समातेर उसलाई पछाडिबाटै हान्नुभएको थियो। चिच्याउँदै त्यो युवक भागेको याद छ। ऊ को थियो? अहिले कहाँ छ? मलाई केही थाहा छैन।
त्यतीबेला त्यस्ता घटना कति हुन्थे लेखाजोखा कसले राखेको होला र!
त्यसको केही समयपछि विभेदकै कारण भएको चरम हिंसाको घटना पनि मेरो मानसपटलमा ताजै छ।
हाम्रो पहाडमा दुई/तीन ठाउँमा घर थियो। लेक बेशी गरिन्थो। त्यसताका म बाबा आमासँग लेकको घरमा थिएँ। बजारसम्म पुग्ने मूलबाटोमा पर्ने हाम्रो घर मूल गाउँबाट बजारसम्म जाने मानिसहरुको बिसौनी थियो। समय याद छैन। म कक्षा ३ मा पढ्थेँ जस्तो लाग्छ। गाइँगाईगुइँगुई हल्ला चल्यो। ‘गाउँकै हाडनाताभित्र पर्ने मानिससँगको सम्बन्धपछि एक किशोरी गर्भवती छिन्।’ उनी ब्राह्मण परिवारकै छोरी थिइन्।
मेरो सम्झनाअनुसार त्यतिबेलाको समयअनुसार बिहे गर्ने उमेर पुगिसकेकी ती युवतीले लेखपढ गरेकी थिइनन्। त्यो सम्बन्ध उनको सहमति वा बिमतीमा थियो मलाई केही थाहा छैन। तर, जहाँ गए पनि उनको मात्रै कुरा काटेको सुन्दा अचम्म लाग्थ्यो। केही महिनापछि अर्को कुरा पनि सुनेँ, ‘ती युवतीलाई भारतको दिल्ली लग्ने भनेर बाटोमै छोडियो रे!’
सुन्छु, उनीसँग नाम जोडिएका पुरूष गाउँमै घरजम गरेर रमाइरहेका छन्।
मेरो बालमष्तिष्कमा गहीरोसँग छाप बसाएको त्यो घटना महिला हिंसाका कुरा आउने बित्तिकै सम्झिन्छु।
अर्को घटना, माओवादी जनयुद्व चरम उत्कर्षमा पुगेपछि हामी तराई झर्यौं। माओवादीका हिंसात्मक गतिविधि बढेपछि शान्ति खोज्दै तराई झरेको हाम्रो परिवारका लागि पहाडजस्तो आफ्नो परिवार मात्रै भएको बस्ती फेला परेन। त्यहाँ मिसावट बस्ती थियो। दलित र गैर–दलितको गाउँ त्यति टाढा थिएनन्। हामी तत्कालीन शुक्लाफाँटा बन्यजन्तु आरक्ष बिस्तारपछि बिस्तारित क्षेत्रमा गाईवस्तु चराउन जान्थ्यौं।
म र एक दलित युवती खुबै मिल्थ्यौं। उनी विवाहित भए पनि उनको र मेरो उमेर उस्तै-उस्तै थियो- १३/१४ वर्ष जति। हामी जंगलमा पनि सँगै खेल्ने र एकअर्काले लगेको खानेकुरा लुकीलुकी बाँडेर खाने गथ्र्यौं।
यही कुरा अरूले थाहा पाएपछि मेरी आमाले गाउँमा कयौं पटक स्पष्टिकरण दिन जानुपरेको घटना पनि ताजै छ। अझैं आमा आएर एक पटक रूँदै मलाई दाउराले हानेर लागेको खत अझै गोडामा छ।
अर्को ताजै घटना पनि यहाँ पस्किन चाहन्छु। नेपालमा ‘लकडाउन’ हुनु एक साताअघि मेरो डेरा पछाडिको खाली जमिनमा घर बनाउने सुरसार थियो। घरको जगका लागि खाल्डो खनिसकिएको थियो। ‘लकडाउन’ हुनासाथ काम रोकियो।
पहिलो साताको ‘लकडाउन’ मा हामी आत्तियौं, तनावमा रह्यौं। दोस्रो साता साथीभाइसँग कुराकानी हुन थालेपछि मनोविज्ञान अलीकति सामान्य बन्यो। कार्यालयको काम घरबाटै गर्नुपर्दा उकुसमुकुस भएकाले मन बहलाउने उपाय खोज्दै थियौं। श्रीमान र म मिलेर जग खन्दा निस्किएको माटोमा घरमै रहेको धनियाँ र तोरी लगेर छर्यौं। केही दिनमै उम्रियो। पछि अन्य छिमेकीले पनि साग छरे। अहिले हामी सागमा केही साताका लागि आत्मनिर्भर बनेका छौं। यति मात्रै होइन झ्यालबाहिर गमला र बोरामा माटो राखेर पनि केही साग रोपेका छौं। हामीले मन बहलाउन गरेको काम देखेर अहिले क्षणिक खुशी पनि हुन्छौं।
केही दिनअघि मात्रै त्यही साग टिप्न जाने क्रममा छिमेकी घरबेटी आमाले टाढैबाट मलाई बोलाइन्। उनकै घरको आँगनका फूलमा पानी राख्दै सन्चो बिसन्चो सोधिन्। लगत्तै त्यो फूलको बोट डेरामा बस्नेहरूको भएको र उनीहरू घर गएकाले आफूले स्याहार गरेको जानकारी पनि गराइन्। म जानै लाग्दा उनले मुख खुम्च्याउँदै भनिन्, ‘डेरामा बस्नेहरूलाई पनि कस्तो सोख है!,’ तुरन्तै अर्को वाक्य बोलिन्, ‘मैले तपाईलाई भनेको होइन है।’
मनभित्र उकुसमुकुस भयो। म केही नबोली हिडेँ।
यी त मेरो दिमागमा अमिट छाप बनेका विभेदपूर्ण व्यवहारका प्रतिनिधिमूलक घटनाका संस्मरण मात्रै हुन्।
माथिका उदाहरणमा रहेका मेरी हजुरआमा, आमा र छिमेकी घरबेटी त आफूले सिकेको कुरा लागू गर्ने केही पात्र मात्रै हुन्। आफ्ना अभिभावकबाट सिकेको विभेद नयाँ पुस्तालाई पनि सिकाइरहने क्रम प्रायः सबैको घरमा यसरी नै चलिरहेको छ।
जसरी मेरी हजुरआमाले दलितले हाम्रो धारा छुनुहुन्न भन्ने सिकिन् र मलाई पनि सिकाइन्। मेरो समाजले पुरूष र महिलाबीचको सम्बन्धमा महिला नै दोषी हो भन्ने सिक्यो र हामीलाई सिकायो। अनि दलितसँग बाँडिचुँडी खाँदा बाहुन-बाहुन रहन्न भन्ने समाजलाई होइन म बाहुन नै छु भन्न आमा कयौं पटक जानुपर्यो। किनकि, मेरी आमाले पनि बाहुन हुनुमा गर्व गर्न सिकेकी थिइन्। र पछिल्लोपटक काठमाडौंमा डेरामा बस्नेहरू दोस्रो दर्जाका हुन् भन्ने छिमेकी आमैको अभिव्यक्तिले म आफैं घरबेटी बन्दा के गरौंला भनेर सोच्न बाध्य गरायो।
जसरी बाल्यावस्थादेखि उहाँहरु, म र मजस्ता कयौं मानिसलाई विभेद सिकाइयो। त्यही कुरा भावी सन्ततिलाई सिकाइरहेका थिए/छन्।
जातीय विभेदका घटना यसरी छर्लङ्गै पोखिइरहेका छन्। लैंगिक विभेदमा हाम्रा दिदीबहिनी चरम हिंसा परेका समाचार बेलाबेला सुनिरहेका छौं। मानसिक हिंसा त हामी महिलाहरू दैनिक भुक्तभोगी नै छौं। दैनिक कार्यालयका कामले हामीसँग सम्पर्कमा आउने मानिसबाट खेप्नुपर्ने मानसिक हिंसा यहाँ लेखेर व्यक्त गर्न सकिँदैन। गरिब र धनीबीचका विभेदका उदाहरण मजदुरहरू सडकमा भोकै मनुपर्ने बाध्यताभन्दा ठूला के हुन सक्लान्।
अशिकांश दलितहरू गैर–दलितबाट आक्रमणमा परेका छन्। दिनहुँ मानसिक र भौतिक हिंसा भोगिरहेका छन्। कयौं क्षेत्रीहरू बाह्मणभन्दा साना मानिएका छन्। उनीहरूबिचमा पनि अधिकांश स्थानमा विवाह बर्जित छ। अधिकांश गरिबहरू धनीका दयाका पात्र बनेका छन्। महिलाहरूले पाइरहेका अवसर पनि धेरैजसो पुरूषको दयामा निर्भर हुन्छन्। सार्वजनिक हुने घटनाभन्दा कयौं बढी घटनाहरू लुकेर बसेका छन्।
यही भ्रममा जकडिएको हाम्रो समाजमा हरेक दिन विभेदका बिऊ छरिइरहेका छन्। हाम्रो मष्तिस्कको विकास हुने बेलैदेखि आमाले मात्रै दैनिक धाराबाट पानी बोकेको देख्यौं। आमाले मात्रै भाँडा माझेको देख्यौं। अली ठूलो हुनेबेला भान्साको पर्याय आमालाई बुझ्यौं। आफ्नो आची धुने मान्छे आमा मात्रै बुझ्यौं।
अली ठूला हुँदा आफूभन्दा तल्लो जातसँग सम्बन्ध नराख्ने सिकाइ सिक्यौं। (ब्राह्मण, क्षेत्री बैश्य, सुद्र) भित्र पनि उच निज जात हाम्रो समाजमा कायम छन्। जसको उपज ब्राह्मणले जैशी (ब्राह्मण भित्रैको एक तह सानो मानिने) हरूसँग बिहे गर्नुहुन्न भन्ने सिक्यौं, जैशीहरूले क्षेत्रीहरूसँग, क्षेत्रीभित्र पनि अन्य साना ठूला मानिएका थर, दलितभित्रका साना ठूला मानिएका थर! यी सबैबीचमा विभेद छ भन्ने सिक्यौं। एकले अर्कालाई सानो वा ठूलो भन्ने व्यवहार गर्न सिक्यौं।
गरिब धनीबीचको विभेद त जरो झनै बलियो छ। उहिल्यैदेखि गाउँका धनीमानीहरूले पुरै गाउँ कब्जामा राखेकै थिए। त्यही सिकाइको उपज अहिले पनि धनीहरुले गरिबलाई दोस्रो दर्जाको व्यवहार गर्छन्। आफ्ना बालबालिकालाई पनि यही सिकाउँछन्। यो विभेद मौलिक अधिकार भित्र पर्ने गाँस, बास, कपासभित्रै देखिन्छ। शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, न्याय, अवसरलगायत जताजतै पनि धनी र गरिबीचको विभेद कायम देखिन्छ।
अहिले हुर्किरहेका बालबालिकाको सिकाइ पनि यस्तै चलिरहेको छ। बोर्डिङ स्कुलमा पढ्ने बिद्यार्थीले सरकारी स्कुलको विद्यार्थीलाई हेयको आँखाले हेर्छ। त्यस्तो विद्यार्थी भोलि कसरी विभेदरहित बन्न सक्ला?
मलाई त के पनि लाग्छ भने, सार्वजनिक मञ्चमा विभेदको चर्को विरोध गर्नेहरू पनि विभेदपूर्ण सिकाइले जकडिएका छन्। हामी जति क्रान्तिकारी सार्वजनिक मञ्चमा छौं वास्तविक जीवनमा छदैछैनौं ।
यसको उदाहरण यही प्रयाप्त छ, रूकुम घटनामा स्थानीय तहका प्रतिनिधि पनि सहभागी थिए भन्ने सुनिएको छ। उनले यसअघि सार्वजनिक स्थानमा गएर हिंसा अन्त्य गर्छु त पक्कै भनेका थिए होलान्।
हाम्रो देखावटी क्रान्तिकारी वा परिवर्तनशील चेतको अर्को उदाहरण माओवादी जनयुद्व पनि हो। जनयुद्वमा विभेदरहित समाज निर्माणका लागि कयौं विभेदको चपेटामा परेकाले ज्यान गुमाए । तर, जब केही व्यक्तिलाई सत्तामा पुर्याइयो तब उनीहरूभित्र अवचेतन मनमा रहेको विभेदको बिऊ उम्रियो र त्यति लामो आन्दोलनका मूल विषय सजिलै छोपेर हराभरा भएर फक्रियो। सबै विर्सेर अरू भन्दा ठूलो बन्ने होडमा ठूला ठूला घर बनाइए। अहिले उनिहरु नै गरिबमाथि गर्नुपर्ने माया बिर्सिएर दया गर्न थालेका छन्। त्यही सिकाइमा हुर्किरहेका उनको दोस्रो पुस्तामा विभेदको बिऊ रोपिसकिएको छ।
विभेदको अन्त्यबारे कयौं किताबहरु लेखिएका छन्। तर, त्यस्ता किताबले अवचेतन मनमा कुनै परिवर्तन ल्याउन सकेको छैन/सक्दैन। विभेद अन्त्यका लागि कानूनहरू पनि बनेका छन्। ती कानूनहरूको सही रूपमा प्रयोग भएमा केही न्याय पक्कै दिन्छ। तर अन्तर्मनको विभेदको बिऊ मार्न सकिरहेको छैन र सक्दैन।
हाम्रा पुर्खाले कयौं राम्रा कुरा सिकाए। तर विभेदपूर्ण सिकाइको बिऊ थपाएर गए। हामी पनि त्यसैको निरन्तरतामा छौं। यो हामीले स्वीकार गर्नैपर्छ। हामी जताततै विभेद सिक्दै आयौं/सिक्छौं। विभेदको अनुभूति गरिरहेकाहरु नै अर्को कुनै निर्धोमाथि विभेदपूर्ण व्यवहार देखाउँछौं। किन कि हामीले विभेद नै सिक्दै आयौं।
हाम्रा सिकाइका केन्द्रमा नै विभेद छ। जसको परिणाम विभेद जन्मिरहेको छ। समाजमा विभिन्न खाले वर्गको निर्माण भइरहेका छन्। जातीय, लैङ्गिक वा धनी गरिबबीचको विभेदका प्रकृति फरक भए पनि विभेदको मूल वा बिऊ हाम्रो सिकाइ केन्द्र नै हो।
यसैले विभेदका विरुद्ध रिस होइन मनोविज्ञान फेर्ने नयाँ अभियानहरू चलाऔं। सफा सिकाइका लागि सिकाइ केन्द्रहरु नै सफा छैनन्। यी केन्द्रहरु सफा गर्ने अभियान चलाऔं।
उचनिज जातका भनिएका छिमेकीसँग बाध्यताले होइन, स–सम्मान सम्बन्ध राखौं। एउटा पुरूषले महिलालाई करले होइन, सम्मानपूर्वक हृदयबाट सहयोग गरौं। एउटा धनीले गरिबलाई गर्ने सहयोग दयाले होइन सम्मानपूर्वक गरौं।
लामो सामाजिक/मनोवैज्ञानिक क्रान्ति आफ्नै मनबाट शुरु गरौं। अवचेतन मनबाट विभेदको विभेदको बिऊ फालौं। वर्गीय हिसाबले हाम्रा सिकाइका केन्द्र दोषपूर्ण थिए । ती दोषपूर्ण सिकाइको अनुभूति हुनबाट हाम्रा बालबालिका जोगाऔं।