नेपाल–भारत सम्बन्धमा उत्पन्न उतार–चढाव मत्थर पार्न तत्काल वार्ता प्रक्रियामा जानुपर्ने कूटनीतिक क्षेत्रका विज्ञहरूको धारणा छ। नेपालले विधिवत् ढंगले नक्सादेखि निसान छापसमेत परिवर्तन गरिसकेको पृष्ठभूमिमा भारतसँग धैर्यपूर्वक वार्ताका लागि विभिन्न ब्याक च्यानल प्रयोग गर्नुपर्ने सुझाव उनीहरूको छ। आपसी तनावले दुवै मुलुकलाई हित नगर्ने कुरा भारतले पनि बुझेर वार्तामा आउन ढिलाइ गर्न नहुने सुझाव यस क्षेत्रका विज्ञको छ।
सुगौली सन्धिअनुरुपको नेपालको भूभाग भारतको नक्सामा परेको मात्र होइन, त्यहाँ भारतीय सुरक्षा फौजको उपस्थितिसमेत छ। यसैले यस्ता विषयमा नेपाल निकै सजग रहेर दरिलो ढंगले विभिन्न माध्यमबाट वार्ता गर्नै पर्छ। अहिले अन्तर्राष्ट्रियकरणतर्फ जान नहुने सुझाव पनि ती विज्ञहरूले दिएका छन्।
कतिपय विषय अन्तर्राष्ट्रिय समुदायले जानकारी पाइसकेका छन्। भारतसँग वार्ता नै नहुने अवस्था आएको खण्डमा ऊबाहेक अन्यसँग कुरा गर्न जाने पाटो अन्तर्राष्ट्रियकरण हो। त्यो अवस्था भइनसकेको विज्ञहरू बताउँछन् भने सरकारले पनि अहिले अन्तर्राष्ट्रियकरण नगर्ने र वार्तामा जोड दिने बताएको छ।