लकडाउन : जुम्लामा १८ योजनालाई निर्माणको अनुमति

 लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन्। 

लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले १८ बढी आयोजनालाई अनुमति दिएपछि ती आयोजना सञ्चालनमा आउने भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए। 

लकडाउनका कारण रोकिएका ठूला १८ विकासे आयोजनाको  निर्माणको काम सञ्चालनमा गर्न अनुमति दिएको उनले बताउदैं भने, 'लकडाउनका समयमा विकास निर्माणका कामलाई सावधानी अपनाएर निर्माण गर्न स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिइएको हो।' 

लकडाउनको अवधि थपिँदै गएपछि जिल्ला प्रशासनले केही दिनयता स्थानीय तहका समपूरक अनुदानका योजना र ठूला आयोजनालाई अनुमति दिएको हो।

व्यवसायीले निर्माणकार्य अघि बढाउन सम्बन्धित कार्यालयमार्फत जिल्ला प्रशासनलाई अनुरोध गरेअनुसार अनुमति दिइएको र लकडाउनको मापदण्डअनुसार काम गराउँछौँ भनेर आएका सिफारिस र रकम फ्रिज हुने खालका योजनालाई अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताए। 
 
जिल्लाका सबै स्थानीय तहले विकास निर्माणको कामका लागि अनुमति मागे पनि अति आवश्यक र आर्थिक वर्षभित्रमा सम्पन्न हुने योजनाबाहेक अरु योजनाको निर्माणका लागि अनुमति दिन नसकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गृह मन्त्रालयबाट अनुमति प्राप्त भएपछि नाग्म–रारा सडकको निर्माण कार्य सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: : 2020-05-20 18:15:20

प्रतिकृया दिनुहोस्