नेपालमा थपिए १५ काेराेना संक्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा मंगलबार थप १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिलो पटक झापामा ९, कपिलवस्तुमा ४ र सुनसरीमा ३ जना थपिएका हुन्।

 झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण ९ जना पुष्टि भएको हो। 

सोमबार एक जनामा संक्रमण पुष्टि भएपछि केचनाबाट स्थानीयको नमुना संकलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो।

संक्रमितसँग सम्पर्कमा आएकाहरुको नमुना परीक्षण गरिएकामध्ये ९ जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ। झापामा संक्रमितको संख्या १२ पुगेको छ।

यसैबीच,कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

यता मंगलबार बिहानै सुनसरीका दुईजनामा कोरोना संक्रमण देखिएको थियो। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जनामा संक्रमण देखिएको हो। 

संक्रमण पुष्टि भएकामा इटहरी उपमहानगरपालिका वडा २ का १८ वर्षीय युवक र अर्का एकजना सुरक्षाकर्मी रहेको प्रतिष्ठान स्रोतले जनाएको छ। 

यअसअघि सोमबार सुनसरीको गढी गाउँपालिकाका एक युवकमा संक्रमण पुष्टि भएको थियो। उनी केही दिनअघि भारतको नयाँ दिल्लीबाट आएका थिए।

प्रकाशित मिति: : 2020-05-19 12:25:03

प्रतिकृया दिनुहोस्