काेराेनाबाट बच्न ट्रम्पले खान थाले मलेरिया तथा लुपसको औषधि

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालेको बताएका छन्।

ट्रम्पले यस्तो भने पनि वैज्ञानिक तथा स्वास्थ्य अधिकारीहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइरहेका छन्। 

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका हुन्। 

उनले भने, ‘मैले झण्डै डेढ हप्तादेखि हाइड्रोक्सिक्लोरोक्वीन औषधि खाइरहेको छु। र पनि म यहाँ उपस्थित भएको छु।’ 

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)ले गएको महिना एक एड्भाइजरी जारी गरेको थियो, जसमा हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसको संक्रमण रोक्न वा निको बनाउन प्रभावकारी नदेखिएको र सुरक्षित पनि नरहेको बताएको थियो।

यो औषधिको प्रयोग गर्दा कोभिड–१९ का बिरामीमा मुटु सम्बन्धी गम्भीर खालको समस्या हुने देखिएको एफडिएले उल्लेख गरेको थियो।

राष्ट्रपति ट्रम्प सोमबार रेस्टुरेन्ट व्यवसायीहरुसँगको बैठकमा थिए। कोरोना भाइरसको महामारीका कारण समस्यामा आएका व्यवसायीसँगको छलफलमा रहेका ट्रम्पले पत्रकारसँग सो औषधिबारे बताएका हुन्।

हाइड्रोक्सिक्लोरोक्वीनले सकारात्मक काम गर्न भन्ने प्रमाण के छ भनेर पत्रकारले सोध्दा ट्रम्पले भने, ‘यहाँ छ मेरो प्रमाणः यो औषधिले राम्रो गरेको छ भन्नेहरुको धेरै कल आइरहेको छ।’

उनले यसअघि थपे, ‘तपाईहरुलाई आश्चर्य लाग्न सक्छ कि धेरै मानिसहरुले यो औषधि खाइरहेका छन्। विशेष गरी अग्रपंक्तिमा रहेर काम गर्नेहरुले कोरोना भाइरसको संक्रमण नहोस् भनेर खाइरहेका छन्। धेरैले यो औषधि खाएका छन्। र मैले पनि यो औषधि खाइरहेको छु।’

ह्वाइट हाउसका फिजिसियनले सो औषधि सुझाएको हो कि होइन भनेर सोधिँदा ट्रम्पले आफैले यो औषधि मागाएको बताए।

उनले भने, ‘मैले उहाँसँग मागेको हुँ। तपाईँ के भन्नु हुन्छरु भनेँ। उहाँले पनि तपाईँ चाहनु हुन्छ भने खाँदा हुन्छ भन्नुभयो।’

ह्वाइट हाउसका केही कर्मचारी र ट्रम्पकै नजिक रहेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए पनि ट्रम्पले सोमबार पनि यो आफूमा कुनै लक्षण नदेखिएको बताए। नियमित रुपमा परीक्षण गरिरहेको पनि उनले बताए।

आफूले दैनिक रुपमा जिंक लिइरहेको र इन्फेक्सनबाट जोगाउने एन्टिबायोटिक एजिथ्रोमाइसिनको एक डोज पनि लिइरहेको ट्रम्पले बताए।

ट्रम्पले पत्रकारसँग भने, ‘यो औषधिको प्रभाव राम्रै पर्ने देखिएको छ। हुन सक्छ यसले काम गरोस्, हुन सक्छ नगरोस्, तर काम गर्ने रहेनछ भने पनि हाइड्रोक्सिक्लोरोक्वीन खाँदैमा बिरामी पर्ने वा मर्ने हुँदैन।’

सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले अहिलेसम्म कोरोना भाइरसको उपचार गर्ने प्रमाणित भएको कुनै पनि औषधि वा उपचार नरहेको बताएको छ।

प्रकाशित मिति: : 2020-05-19 07:58:50

प्रतिकृया दिनुहोस्