कोरोना कहर : बूढानीलकण्ठको तीन वडा सिल गर्ने

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ। 

वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि तीनवटै वडा सिल गर्ने तयारी गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। यस अवधिमा कोही पनि घर बाहिर हिँडडुल गर्न नपाउने विज्ञप्तिमा उल्लेख छ। 

सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१२ स्थित तेन्जिङ चोकमा बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उक्त क्षेत्र आजदेखि सिल गरिएको हो। 

शङ्कास्पद सातजनामा गरिएको परीक्षणमा एकजनामा सङ्क्रमण देखिएको छ भने तीनजनाको परीक्षण नतिजा नेगेटिभ देखिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए। 

तीनजनाको नतिजा भने आउन बाँकी छ। पिसिआर परीक्षण पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको उनले बताए। युवतीको सम्पर्कमा आएका १५ जनाको  पिसिआर परीक्षण गर्ने बताइएको छ। 

युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जनाएको छ। युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो। 

प्रकाशित मिति: : 2020-05-18 16:15:13

प्रतिकृया दिनुहोस्