जिल्लाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन भएको छ । गत मंसिरमा व्यासका स्थानीयवासी खलंगा झरेसँगै त्रिदेशीय सीमा क्षेत्र सञ्चारविहीन भएको हो ।
छाङरुमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण गत मंसिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।
‘हिमपातले छाङरुमा राखिएको स्काइ फोन सेवाको टावरमा राखिएको सोलार र अन्य उपकरणमा क्षति पुगेको हुनसक्छ,’ टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले भने ।
बढी हिमपातले हरेक वर्ष टावरमा क्षति पुर्याउँदै आएको छ । गत वर्ष हेलिकप्टरमार्फत टेलिकमका कर्मचारी गएर टावर निर्माण गरेको तर यो वर्ष छाङरु पुगेर टेलिफोन टावर सञ्चालन गर्न बाटो अवरुद्ध हुँदा सम्भव नभएको टेलिकम प्रमुख गुरुङको भनाइ छ ।
उनका अनुसार स्काइ फोन सेवा पुनः सञ्चालन गर्न बन्दाबन्दीका कारण सामान ल्याउनै समस्या छ ।