भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्याे 

भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ। 

भारतमा अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ  । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट एक सय ५७ जनाको मृत्यु भएको हो।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या  ९६ हजार एक सय ६९ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा पाँच हजार दुई सय ४२ जना नयाँ संक्रमित फेला परेका छन्।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार ५३ पुगेको छ। महाराष्ट्रमा अहिलेसम्म एक हजार एक सय ९८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ।

गुजरातमा अहिलेसम्म ११ हजार तीन सय ७९ संक्रमित पुगेका छन्। यो राज्यमा मृत्यु हुनेको संख्या ६ सय ५९ पुगेको छ। त्यस्तै तमिलनाडुमा अहिलेसम्म ११ हजार दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ७८ जनाको मृत्यु भएको छ। मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार नौ सय ७७ संक्रमित फेला परेका छन्। यो राज्यमा दुई सय ४८ जनाको मृत्यु भइसकेको छ।

भारतको पश्चिम बंगालमा दुई हजार ६ सय ७७ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय ३८ पुगेको छ। उत्तर प्रदेशमा पनि संक्रमित संख्या चार हजार दुई सय ५९ पुगेको छ। उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट एक सय चार जनाको मृत्यु भएको छ। बिहारमा एक हजार दुई सय ६२ संक्रमित पुग्दा आठ जनाको मृत्यु भइसकेको छ।

अहिलेसम्म भारतमा ३६ हजार आठ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-05-18 13:03:54

प्रतिकृया दिनुहोस्