कोरोनाले मृत्यु भएकी सुत्केरीको शिशुसहित परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ

बिएल संवाददाता

काठमाडाै‌ं

 कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। 

धुलिखेल अस्पतालका चिकित्सक डा. सुमनराज ताम्राकारका अनुसार प्रयोगशालामा गरेको परीक्षणमा मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलाका शिशुसहित श्रीमान, माइतीतर्फको आमा र बहिनीमा काेराेनाकाे संक्रमण नपाइएकाे हाे।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन्।

श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाह्रबिसे–९ निवासी ती सुत्केरीको बिहीबार मृत्यु भएको थियो। कोरोना संक्रमणको आशंकामा गरिएका आरडीटी र पीसीआर परीक्षणका रिपोर्ट शनिबार पोजिटिभ आएको थियो।

त्यसपछि बिहीबारदेखि अस्पतालको गार्ड रुममा अलग्गै राखिएका शिशुसहित परिवारका सदस्यलाई धुलिखेलस्थित क्वारेन्टाइनमा राख्न लागिएकोमा प्रशासनले आइसोलेसनमा राख्न निर्देशन दिएको थियो।

 

प्रकाशित मिति: : 2020-05-18 11:47:40

प्रतिकृया दिनुहोस्