नारायणी अस्पतालका सम्पूर्ण सेवाहरु सुचारु गर्न माग गर्दै १५ दिनदेखि धर्नामा

वीरगञ्जस्थित नारायणी अस्पतालको सम्पूर्ण सेवाहरु सुचारु गर्न र कोरोना अस्पताल अन्यत्र सार्नुपर्ने माग गर्दै सुरु भएको धर्ना आइतबार १५ दिन पनि जारी रहेको छ । 

अस्पताललाई पुनः सुचारु गर्न सबैले घर–घरबाट विरोध गर्नुपर्ने कुरामा जोड दिँदै जनता समाजवादी पार्टीका नेताहरु विगत २ सातादेखि आफ्नो घरको गेट अगाडि बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा धर्ना दिने गरेका छन् । 

नारायणी अस्पताललाई संघिय सरकारद्वारा कोभिड अस्पताल बनाएपछि जसपालगायत सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, संघ/संस्थाले आवाज उठाउदा पनि सुनुवाइ नभएपछि बैशाख २१ गतेदेखि प्रत्येक दिन आफ्नो घरको गेटमा कालो झन्डा बाधेर धर्नामा उत्रिएका हुन् ।

विगतका दिन जस्तै आइतबार १५ औं दिन पनि लकडाउनको पालना गर्दै नारायणीलाई कोभिड अस्पताल बनाएको विरोधमा बारा, पर्सा र रौतहटका अभियन्ता धर्नामा बसेको युवा नेता ओम प्रकाश सरार्फले बिएल नेपाली सेवालाई बताए । 

‘नारायणी अस्पतालमा कोभिडका बिरामीहरुको उपचार भइरहेका कारण  अन्य सम्पुर्ण सेवाहरु अझै ठप्प छन् ।,‘ उनले भने, ‘ गरिब जनताहरु सहज र सुलभ उपचार सेवाबाट बञ्चित भएका छन्।’ 

नारायणी अस्पताललाई जनरल अस्पताल बनाउने माग गर्दै तीन जिल्लाका अभियन्ताहरु धर्नामा एक्यबद्ध भएको अभियन्ता निजामुद्दीन समानीले बताए । विभिन्न दलका नेता तथा स्वास्थ्यमन्त्रीको भेटघाट भएर यस विषयमा छलफल भएपनि आधिकारीक निर्णय अझै नभएको सर्राफको बताए ।

‘सहमति र समझौताको ललिपपमा अब जनता पर्ने वाला छैन, हामीलाई रिजल्ट र कार्यन्वन चाहियो । अस्पतालको सबै सेवा सुचारु नभएसम्म हाम्रो आन्दोलन जारी रहने छ। ’

स्वास्थ्य मन्त्रालयको आधिकारीक निर्णय नहुँदाम्म धर्ना जारी नै रहने अभियानता मोनीका सिंहले बताइन् । ‘अहिले यस क्षेत्रका गर्भवति तथा अन्य गरिब नागरिकलाई उपचार गराउन समस्या भइरहेको छ। यस्तो अवस्थामा नारायणी अस्पतालको सम्पुर्ण सेवाहरु सुचारु नगरेसम्म हामीले बिराेध गरिरहने छौं,' उनले भनिन् ।’ 

धर्नामा जसपाका नेताहरु शशि कपुर मिया, मानव अधिकारकर्मी हरेन्द्र पटेल, सन्तोश पटेल लगायतले साथ दिरहेका छन् ।
 

प्रकाशित मिति: : 2020-05-17 16:02:11

प्रतिकृया दिनुहोस्