लिपुलेकका लागि संसद र देशलाई एकजुट बनाएर लड्छौं: नेम्वाङ

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दार्चुलाको लिपुलेकलाई लिएर चीन र भारतबीच भएको सम्झौता नेपाललाई अस्वीकार्य भएको भन्दै त्यसको विरुद्धमा एकजुट भएर लड्ने बताएका छन्।

नेपाली भूमिमा दुई देशबीच व्यापारिक मार्ग बनाउने सन् २०१५ मा  सहमति भएको थियो। सम्झौता गर्ने बेला दुवै देशले नेपाललाई नसोधेकाले त्यसका विरुद्धमा सबै दलहरू र देशलाई एकजुट भएर लड्ने उनको भनाइ थियो।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रमबारे धारणा राख्दै नेम्वाङले भने, ‘भूकम्पले हामी क्षतविक्षत भएको २०औं दिनमा हाम्रा दुई छिमेकीले लिम्पियाधुराको त्रिदेशीय बिन्दुलाई व्यापार नाकाको रूपमा अगाडि बढाउने सहमति गरेका थिए। विनम्र रूपमा भन्छौं त्यो स्वीकार्य छैन। त्यसको विरुद्धमा संसद र देशलाई एकजुट बनाएर लड्छौं।’

नेपालमा भूकम्प गएको बेला भारतले नाकाबन्दी लगाएको स्मरण गर्दै नेम्वाङले सरकारले अबको दिनमा नाकाबन्दी नलाग्ने अवस्था सिर्जना गरेको पनि बताए। भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाएर त्यस्तो सम्भावनाको अन्त्य गरिएको उनको भनाइ थियो। नेम्वाङले चीन र भारतले लिपुलेक भएर दुई देशबीच व्यापार गर्ने सहमति गर्दा नेपालालई नसोधिएको भन्दै नेपालको नक्सा जारी गर्दा चीन र भारत कसैलाई सोध्न आवश्यक नभएको बताए।

प्रकाशित मिति: : 2020-05-17 14:34:30

प्रतिकृया दिनुहोस्