रौतहटमा पहिचान भएका १० संक्रमित भारतबाट आएको खुलासा

बिएल संवाददाता

काठमाडाै‌ं

रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरसका १० जना संक्रमित भारतबाट आएको खुलेको छ।

रौतहटको राजपूर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९ (दुईजना), ४२ र ४८ वर्षका पुरुष तथा रौतहटकै इशनाथ नगरपालिका–३ र ५ का २८, ३० र ३३ वर्षका पुरुषमा आइतबार बिहान कोभिड-१९ पुष्टि भएको थियो। 

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार उनीहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरातलगायतका ठाउँबाट आएका हुन्।

भारतबाट फर्केलगत्तै उनीहरुलाई सीधै क्वारेन्टाइनमा पठाइएको थियो। क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार  स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो।

संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ।

योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ। रौतहटको इशनाथ, वृन्दावन र देवाही गोनाही नगरपालिकामा पहिले नै तीनजना संक्रमति फेला परेका थिए।

प्रकाशित मिति: : 2020-05-17 09:43:41

प्रतिकृया दिनुहोस्