रुपन्देहीका अधिकांश स्थलमा आवतजावतमा रोक

रुपन्देहीमा कोभिड– १९ सङ्क्रमित फेला परेपछि स्थानीय सरकारले आफ्ना क्षेत्रमा आवतजावत गर्न रोक लगाएका छन् । 

खास गरी लुम्बिनीसँग जोडिएको जिल्लाको गैडहवा गाउँपालिकामा एकै परिवारका नौ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि सो गाउँपालिकासँग जोडिएको कञ्चन गाउँपालिकामा आवतजावत  गर्न  शुक्रबारदेखि रोक लगाइएको छ । 

गैडहवा र कञ्चन गाउँपालिकाका सीमा जोडिएका छन् । दुई गाउँपालिकासँग जोडिएको सैनामैना नगरपालिकमा  समेत उच्च सतर्कता अपनाइएको छ ।  ‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयलाई गाउँपालिका कार्यपालिका बैठकले अनुमोदन गरेको हो ’, कञ्चनका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले भने । सो निर्णय यही जेठ ५ गतेसम्म लागु हुने छ । 

गैडहवा गाउँपालिकामा पनि कोरोना सङ्क्रमित  फेला परेपछि आवतजावतमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए । त्यस्तै तिलोत्तमा नगरपालिकाले पनि नगरपालिकाको दक्षिण भेगका सहायक प्रवेश नाकामा आवतजावत गर्न रोक लगाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले बताए । 

यसअघि कपिलवस्तुदेखि पश्चिम नवलपरासीको सिमानासम्मको हुलाकी सडकको दक्षिणतर्फ लुम्बिनी साँंस्कृतिक नगरपालिका तथा समरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकाका केही क्षेत्र, सिद्धार्थनगरका केही क्षेत्र, ओमसतिया गाउँपालिकाका केही क्षेत्र र रोहिणी गाउँपालिकामा आवतजावत गर्न रोक लगाइएको थियो   । 

रुपन्देहीमा अहिलेसम्म २८ कोरोना भाइरसको सङ्क्रमणका बिरामी भेटिएका छन् । उनीहरु अधिकाश भारतबाट आएका हुन् । 

प्रकाशित मिति: : 2020-05-16 13:16:23

प्रतिकृया दिनुहोस्