मेरा दाज्यू हर्कबहादुर थापा सन् १९५६ मा तिब्बत प्रवेश गर्नुभयो। भारत र चीन सरकारको मैत्री सम्बन्धले गर्दा भारतद्वारा तिब्बतमा खोलिएको ‘ट्रेड एजेन्सी’ मा नोकरी पाएर उहाँ सञ्चार विभागको ‘अफिसर–इन्चार्ज’ काे पद सम्हाल्न जानु भएकाे थियाे।
त्यतिबेला चीन सरकारबीच भारतीय सरकारकाे मनोमालिन्य चलिरहेकाे कारण चिनियाँ जासूस भारतीय कर्मचारीको हरेक गतिविधिमा निगरानी राख्थे। दाज्यूले तिब्बतको राजधानी ल्हासा, ग्यान्सी अनि यातुंगमा काम गर्नुभयो। यातुंगमा र ल्हासामा धेरै समय बिताउँदा उहाँले तिब्बती राजा दलाई लामालाई पोटाला दरबारमै भेट्नु भएकाे थियाे। यति बेलासम्म दलाई लामा तिब्बत छाडेर भारत प्रवेश गरिसकेका थिएनन्। निकै युवा देखिने दलाई लामाले ‘ट्रेड एजेन्सी’ का कर्मचारीलाई प्रोजेक्टर चलाएर सिनेमा पनि देखाएका थिए।
त्यतिबेला चीनमा आधुनिकीकरणकाे सुरुवात भइसकेकाे थिएन। जतात्यतै अभाव देखिन्थ्याे भने उच्च जनसंख्याका कारण चिनियाँ जनताहरु अन्न उत्पादनका लागि रातदिन खटिरहेका हुन्थे। तिब्बत चीनमा बिलय भइसकेकाे कारण तिब्बतीहरुले पनि समान रुपमा खट्नु पर्थ्याे।
चिनियाँ अधिकारी ‘ट्रेड एजेन्सी’का कर्मचारीलाई कम्युनमा रहेर प्रभावकारी खेतीपाती कसरी हुन्छ भन्ने देखाउन कृषि फर्ममा लिएर जान्थे। कहिलेकाहीँ फर्ममा जाँदा नाकनै ‘उडाउने गरी’ मान्छेको गुहु गन्हाउँथ्याे। मान्छेको गुहु चिनियाँहरू मलकाे रुपमा प्रयाेग गर्थे। बन्दा कोपीको पातमा गुहु टाँसिएको देखेर दाज्यूलाई घीन लाग्थ्यो तर चिनियाँहरू यसलालाई सजिल्यै पचाइदिन्थे। उनीहरु त्यतिबेला मलकाे अभावमा यसाे गर्न बाध्य थिए।
अब यो बाध्यता भारतमा पनि आउनेछ भन्ने उहाँले त्यही देखेर मनन गर्नु भएकाे थियाे। मान्छेको मलबाट सागसब्जी साह्रै सप्रिएकाे देखेर उहाँलाई उचम्म पनि लागेकाे थियाे। दाज्यूले गुहुको कारण तिब्बतमा एक मनको बन्दा कोपी पनि देख्नुभएको थियो।
सन् १९५९ मा दलाई लामा पाेटाला दरबार छाेडेर १ लाख अनुयायीसहित भारत प्रवेश गर्न पहिले ‘ट्रेड एजेन्सी’ काे शरणमा जानुभयाे। याे कार्य चीनलाई स्विकार्य हुने कुरा थिएन। त्यसैले भारतकाे ‘ट्रेड एजेन्सी’ पनि चीनकाे काेपभाजनमा पर्याे। यसपछि दाज्यूले सन् १९६१ मा तिब्बत छाड्नु पऱ्यो। उहाँ शिलाेङस्थित घर फर्किनु भयाे।
यता दलाई लामालाई भारतमा शरण दिएको निहुँमा सन् १९६२ मा चीनले भारतमाथि आक्रमण गऱ्यो। तर भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले तत्कालै युद्ध गर्नुपर्छ भन्ने आदेश भारतीय सेनालाई दिएनन्। फल्त: धेरै भारतीय सैनिक मारिए।
दाज्यू शिलाेङ आउनु त भयो तर कम्यूनिष्ट विचारधारा बोकेर। उहाँले कम्युनिष्ट देशको माटोमा आफ्नो पैतला टेक्नुभएको थियो। तर यसको विपरीत कर्म बोकेर आउनुभयो।
यसैकारण दाज्यू मलाई भन्नुहुन्थ्यो–‘चिनियाँले झैँ काम गर्नुपर्छ।’ तिब्बतमा एक मनको बन्दा कोपी फलाएको देखेर उहाँ बारीमा सधैँ खटिरहनु हुन्थ्यो।
एकपल्ट त जुनेली रातमा मलाई बारीमा रायोको सागको बिरुवा रोप्न लगाउनुभएको थियो। अनि हामी दुबै दाज्यू–भाई मिलेर रायोको सागको बिरूवा रोपेका थियौं। उहाँ यति मिहिनेती हुनुहुन्थ्याे– उहाँकै कारण बारीमा ऊखुको घारी थियो, ६० वटा अंगूरको बोट र जताततै गोलभेँडाजस्तो बोटमा उम्रने खट्टाबैगुन फलेका हुन्थे।