सरकारले नेपालीको रोग प्रतिरोधी क्षमता बढाउने, स्थानीय तहमा ५ देखि १५ शैयाको अस्पताल बनाउने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले नेपालीको रोग प्रतिरोधी क्षमता बढाउने योजना अघि सारिएको छ। 

शुक्रबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति रहेको बताएकी छिन्। 

राष्ट्रपति भण्डारीले सरकारले स्वास्थ राख्न उपचारात्मक र निरोधात्मक विधी अपनाउने उल्लेख गरिन्।‘प्रकृतिमैत्री स्वच्छ जिवनयापन प्रणाली निर्माण नेपालीको रोग प्रतिरोधी क्षमता बृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गरिने छ,’उनले भनिन्।

यस्तै भूगोल र स्थानीय तहका आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शैयाको अस्पताल बनाइने सरकारको नीति रहेको छ।  

प्रदेश स्तरमा रहेका जिल्ला अस्पताललाई २५ देखि ५० शैया, अञ्चल अस्पतालाई २ सय शैयाको जनरल अस्पतालको रुपमा स्तरउन्नती गर्ने लक्ष्य लिइएको छ। 

पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत विभिन्न अस्पताललाई ५ सय शैयाको अस्पतालको रुपमा विकास गरिने नीति अघि सारिएको छ। 

सरकारले वडा स्तरीय सेवा केन्द्रबाट ४० बर्षमाथिका नागरिकको रक्तचाप मधुमेह जाँच गर्ने, आम नागरिकलाई योग केन्द्र र ब्यायामशाला बनाउन प्रोत्साहन गर्ने योजना अघि सारेको छ।

यस्तै देशमा ६ सय ७१ स्थानीय तहका वडाहरुलाई पूर्ण खोप सेवा वडा घोषणा गरिएको बताउँदै आगामी बर्ष सबै वडामा सरकारले खोप सेवा पुर्‍याउने भएको छ। 
 

प्रकाशित मिति: : 2020-05-15 17:36:39

प्रतिकृया दिनुहोस्