यसरी स्थापित भयो कालापानी नजिक सशस्त्र (भिडियो)

श्याम भट्ट

डडेल्धुरा

कोरोना कहर जारी रहँदा भारतले नेपालसँग जोडिएको विवादित सीमामा नेपाली भूमि मिच्दै सडक उद्‌घाटन गरेको एक सातापछि सशस्त्र प्रहरी र नेपाल प्रहरी बन्दोबस्तीका सामन सहित ब्यास पुगे।

बिहिबार पनि नेपाली सेनाको हेलिकोप्टरले पाँच खेपमा सशस्त्र र प्रहरीका जवान र आवश्यक समान पुर्‍याएर ब्यासबाट फर्के।

२५ जना सशस्त्र र ९ जना प्रहरी र समानका लागि बुधबार दुई खेप लगाएको सेनाको हेलिकोप्टरमा इन्धन सकिनुका साथै मौसम खराब भएपछि २० जवान र आवश्यक समान पुर्‍याउन सकेको थियो। बिहिबार धनगढीबाट ईन्धन ल्याएको अर्को हेलिकोप्टर आएपछि  एमआई १७ ले ५ खेप लगाएको हो। मौसमका कारण उडानमा समस्या आउँदा थप समय लाग्यो।

बिरलै जाने सेनाको एम आई १७ ब्यासको आकाशमा देख्दा बुधबार भारतीय सेनाका दुई हेलिकोप्टर पनि आकाशमा सक्रिय रहे पनि बिहीबार भने देखिएनन्।

ब्यासमा शसस्त्रको पहिलो जत्था पुग्ने वित्तिकै गागास्थित भाँडाको घरमा आफनो बोर्ड लगाएका थिए।

त्रिदेशीय यो महत्वपूर्ण नाकामा शसस्त्रको उपस्थिति अब बाह्रै महिना हुनेछ जसले यहाँका स्थानीयमा सुरक्षाको अनुभूति गर्न पाउने छन्। अपि नाम्पा संरक्षण क्षेत्रका नाममा संरक्षित यो महत्वपूर्ण उपत्यकामा हुने अवैध गतिविधि पनि नियन्त्रण हुने विश्वास गरिएको छ।

मन्त्रिपरिषदले मुलुकभर १ सय १४ स्थानमा भारत र चीन सीमामा  नयाँ बोर्डर आउट पोष्ट निर्माण गर्ने निर्णय मध्ये चीन जोडिएका सात हिमाली जिल्लामा पोष्ट बनाउनुपर्ने योजना बमोजिम एउटामा ब्यास पनि छनोट भएको थियो ।

योजना मुताबिक दार्चुलाका सशस्त्र प्रहरी प्रमुख डिएसपी डम्बरबहादुर बिष्टले एक महिनाअघि ब्यास उपत्यका पुगेर गागा मैदानलाई नयाँ बोर्डर आउट पोष्टका लागि छनोट गरेका थिए।

ब्यासमा अहिले शसस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाले आफ्नो भूभागमा निगरानी समेत शुरु गरेका छन्। सञ्चार माध्यमको अभाव ब्यासको प्रमुख समस्या भएकाले अहिलेलाई आन्तरिक सञ्चारको प्रयोग गरेको बिष्टले जानकारी दिए।

भारतीय दादागिरी पछि फेरि चर्चामा आएको यो क्षेत्रमा बोर्डर आउट पोष्ट स्थापना गर्न गृह मन्त्रीका सुरक्षा सल्लाहकार प्राध्यापक डा.ईन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापा, सुदूर प्रदेश वैद्यनाथ वाहिनीका वाहिनीपति हरिशंकर बुढाथोकी र तीन जना सरकारी सञ्चारकर्मीसहितो टोली ब्यास पुगेका थिए।

बिहीबार बिहानै उनीहरुलाई धनगढी पुर्‍याईएको थियो।

ब्यासको छांग्रु भारतसँगको अन्तिम नाका सीतापुल रहेको महत्वपूर्ण क्षेत्र हो। छांग्रुको गागामा महाकालीमाथि स्थानीयले बनाएको काठे पुलले दुई देशलाई जोड्छ जसको ठिक पारी भारतको गर्ब्याङ छ। यही तिंकरबाट बग्दै आउने नाम्पा नदी पनि महाकालीमा मिसिन्छ। काली र नाम्पाबीचको सुन्दर भूभाग नै छांग्रुको गागा हो। गागाबाट चार घण्टाको हिँडाइपछि उत्तरको अन्तिम गाँउ तिंकर र तिब्बती नाका पुगिन्छ।

गागामा रहेको स्थानीय जीतबहादुर बोहराको होटल कैलाश रहेको घरलाई आधार बनाएर शसस्त्र र प्रहरीले सीमा निगरानी शुरू गरेका छन् भने नयाँ बोर्डर आउट पोष्ट र प्रहरीले आफ्नो चौकी पनि बनाउने छन्।

जीतबहादुर बोहोरा तीनै हुन्, जसले २०३२ सालमा तिंकरमा भएको खम्पा बिद्रोहमा नेपाली सेनालाई चीनसँगको तिंकर नाकाको बाटो देखाएका थिए।

गागाको सीतापुल नाकाबाट १२ किलोमीटर उत्तर विवादित कालापानी र त्यहाँबाट त्यतिकै दूरीमा लिपुलेक पर्छ। नेपाली भूमि मिचेर भारतले बनाएको यो सडकको दूरी धार्चुलाबाट लिपुलेक ९८ किलोमिटर भनिएको छ। भारतीय सैनिकको यहाँको प्रमुख केन्द्र छियालेकबाट कालापानी २३ किलोमिटर छ।

शसस्त्र विद्रोह अघि छांग्रु र तिंकरका दुबै नाकामा वर्षका ६ महिना दुबै ठाउँमा छोटी भन्सार, सीमा प्रशासन र प्रहरी, तत्कालिन गाविस, स्वास्थ्य चौकी र विद्यालय सञ्चालन हुने गर्थे। असोजमा चिसो बढेपछि दुबै गाउँका स्थानीयसँगै सबै सरकारी संयन्त्र सदरमुकाम खलंगा झर्थे भने वैशाखमा फेरि फर्किन्थे।

ब्यासको ठिक पारी भारततिर छियालेक, गब्र्याङ ,गुंजी, नाभी र कुटी, कालापानी हुँदै लिपुलेकसम्म हजारौंको संख्यामा रहेका भारतीय एसएसबी र आईटिबीपी (ईण्डो तिब्बत बोर्डर पुलिस) का चीन लक्षीत सयौं अत्याधुनिक क्याम्पहरु छन्।

तिब्बत सीमाबाट ३५ किलोमीटर वर रहेको छियालेकलाई प्रमुख आधार बनाई भारतीय फौज परिचालन हुन्छ। सन् १९६२ को भारत-चीन युद्वमा चिनिया फौज छियालेकसम्मै पुगेको थियो।

प्रकाशित मिति: : 2020-05-14 17:18:04

प्रतिकृया दिनुहोस्