नेपालमा थप २ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हाे। मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।
बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ।
बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ। यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ।
मन्त्रालयले नेपालमा थप ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको जनाएकाे थियाे। तर करिब तीन घण्टा पछि एक सूचना जारी गर्दै त्रुटिबस आँकडा दोहोरिएको भन्दै सच्याएको हो। मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको हो।
पछिल्लो पटक सर्लाही धान्काैल नगरपालिका निवासी ४५ वर्षीय पुरुष तथा धनुषा, जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० र २० वर्षीय पुरुषामा काेराेना संक्रमण पुष्टि भएकाे सूचना जारी गरिएकाे थियाे। यस्तै महाेत्तरी, जलेश्वर र बलवा नगरपालिका निवासी १६, ३५ वर्षीय पुरुषमा पनि काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे थियाे।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीकाे हस्ताक्षर रहेकाे विज्ञप्तिमा उनीहरु सबैकाे स्वाबकाे परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला,काठमाडाैंमा गरिएकाे जनाइएकाे थियाे।
तर पछि उनले यसलाई सच्चाएर यी पाँचै जनालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा बुधबारै ल्याइसकिएको जानकारी दिए।
मन्त्रालयले मंगलबार राति धनुषाका २ जना, महोत्तरीका २ जना र १ जना सर्लाहीका संक्रमित भएको जनाएको थियो। महोत्तरीको जलेश्वरका भनिएका ३५ वर्षीय पुरुष जनकपुरधाममा पुस्तक व्यवसाय गर्दै आएका छन्। ती संक्रमित महोत्तरीको स्थायी बासिन्दा भएको खुलेको छ।
महोत्तरीकै बलबा नगरपालिकाका १६ वर्षीय बालक हुन्। उनी भारतबाट भागेर आएपछि नगराइनस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको थियो।
धनुषाका २० वर्षीया युवती मिथिला नगरपालिका १० लालगढकी हुन्। भारतको राजधानी दिल्लीमा श्रीमान् र छोरासँग बस्दै आएकी उनी गत चैत १ गते नै यहाँ आएको उनले जानकारी दिए।
जनकपुरधामका ४० वर्षीय पुरुष पत्रकार हुन्। स्थानीय टेलिभिजनमा कार्यरत पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशमा राखिएको छ। यता सर्लाहीको हरिपूर्वा नगरपालिका ३ का ४५ वर्षीय पुरुष मानसिक सन्तुलन ठीक नभएको व्यक्ति हुन्।
यता जनकपुरमा मेडिकल सञ्चालन गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ। ती संक्रमित महोत्तरीको स्थायी बासिन्दा भएको खुलेको छ।
प्रहरीका अनुसार मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवा जलेश्वर नगरपालिका स्थायी निवासी हुन्। उनले केही वर्षयता जनकपुरमै मेडिकल सञ्चालन गर्दै आएका छन्।
संक्रमितलाई हाल जनकपुर अस्पतालमा राखिएको छ।