मंगलबार एक महिलामा कोरोना संक्रमण भेटिएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ९ कार्यालयले तरकारी बेच्न पनि प्रतिबन्ध लगाएको छ।
मंगलबार चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।
वडाध्यक्ष देवेन्द्र महर्जनले बुधबार सूचना जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडामा सार्वजनिक स्थलमा तरकारी बेच्न, गाडीमार्फत तरकारी र फलफूल बिक्री गर्न पनि रोक लगाएको जानकारी दिएका छन्।
यस्तै निर्माण सामग्री ढुवानीमा पनि पूर्ण रुपमा रोक लगाएको छ। वडा कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परे मास्क लगाएर निस्कन र कुनै पसलमा जाँदा सामाजिक दूरी कायम गराउन पनि आग्रह गरेको छ।