विवादित लिपुलेक नजिकै नेपालले बोर्डर आउट पोस्ट (बिओपी) खडा गर्ने भएको छ।
बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमा गृह मन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा सशस्त्र प्रहरीका एआइजी नारायणबाबुसहितको टोली दार्चुलाको खलंगा प्रस्थान गरेको छ।
खलंगाबाट सो हेलिकप्टरमा सशस्त्र प्रहरीका निरीक्षकको नेतृत्वमा २५ सुरक्षाकर्मीसहितको टोली लिपुलेक नजिकैको छाङ्गरु जाने छ। त्यहाँ सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बिओपी खडा गरिने जनाइएको छ।
सरकारले विरोध चर्किएपछि सो क्षेत्रमा बिओपी खडा गर्ने निर्णय गरेको थियो। गृहमन्त्रालयका अनुसार दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी स्थापनाका लागि तयारी गरिएको छ।
छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा छ।त्यहाँ स्थानिय एक व्यक्तिको घर भाडामा लिएर बिओपी बस्ने छ। उक्त गाउँमा १०५ घरधुरी रहेको छ। पहिलो चरणमा सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ।
सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको थियो। तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो। मङ्सिरमा सरकारले ११४ विओपी स्थापना गर्ने निर्णय गरेको थियो। त्यसपछि जम्मा १३ स्थानमा मात्रै विओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए।