एकै दिनमा ५७ जना कोरोना बिरामी थपिँदैमा आत्तिनुपर्ने अवस्था छैन : डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले  नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पोजिटिभ देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

विगत छ दिनयता देखिएका अधिकांश संक्रमित भारतमा संक्रमित भएर लुकिछिपी नेपाल पसेका व्यक्ति रहेकाले चिन्ताजनक अवस्था नभएको उनको दाबी छ ।

'यदि उनीहरु नेपालमै बसेका संक्रमित भएको भए समुदायमा फैलिएको डर हुन्थ्यो', आफ्नो फेसबुक पेजमा सन्देश लेख्दै उनले भनेका छन्, ' उतै संक्रमित भएर आएको हुनाले यता धेरै जनालाई सार्न पाएका छैनन् । यद्यपी यो संख्या अझ बढ्नेछ ।'

उनको सन्देशको पूर्ण पाठ :

 

कोरोना संक्रमण यसरी नियन्त्रण गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ
..

आज ५७ जनाको कोरोना संक्रमण पोजिटिभ देखिएसंगै नेपालमा १९१ जनामा संक्रमण देखिएको छ । ३१ जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा १६० जना संक्रमित रहेका छन् । झट्ट हेर्दा एक दिनमा ५७ जना थपिए पनि चिन्तित हुनुपर्ने अवस्था छैन ।

- विगत ६ दिन यता देखिएका अधिकांश संक्रमित भारतमा संक्रमित भएर लुकिछिपी नेपाल पसेका व्यक्ति हुन् । उनीहरु नेपाल आएपछि क्वारेन्टाइनमार्फत परिक्षणमा गएका हुन् । यदि उनीहरु नेपालमै बसेका संक्रमित भएको भए समुदायमा फैलिएको डर हुन्थ्यो । उतै संक्रमित भएर आएको हुनाले यता धेरै जनालाई सार्न पाएका छैनन् । यद्यपी यो संख्या अझ बढ्नेछ ।

- नेपाल र भारतबीच प्रधानमन्त्री स्तरमा उताका नेपालीलाई भारतले क्वारेन्टाइन / परिक्षण / उपचार गर्ने अनि यताका इन्डियनलाई नेपालले क्वारेन्टाइन / परिक्षण / उपचार गर्ने सहमति भएको कुरा मेडियामा आएको थियो । नेपालले भारतीयलाई यहीं परिक्षण तथा उपचार गरेको छ, उता जान दिएको छैन । तर भारतबाट संक्रमित नेपालीलाई नेपाल आउन दिएकोप्रति यथेष्ट ध्यानाकर्षण हुनु जरुरी छ ।

- नेपालले आफ्ना सिमाबासीलाई राहत दिएर सुरक्षाकर्मीसंग संयुक्त गस्ती गर्ने / ठाउँ ठाउँमा CCTV राख्ने तथा सुरक्षाको अर्को तह थप्नु जरुरी देखियो ।

- अझै पनि नेपाल आन्तरिक रुपमा सुदृढ छ । लकडाउनको ब्यबस्थापन गर्ने हो भने अझै पनि डर मान्नुपर्ने अवस्था छैन । तर बिगत १० दिन यता जसरी संक्रमित क्षेत्रबाट मान्छेको आवात भएको छ, यसलाई उतैबाट नरोक्ने हो भने सहरी क्षेत्रमा संक्रमण फैलिने खतरा हुन्छ । सहरी क्षेत्रमा संक्रमण फैलियो भने नियन्त्रण गर्न निकै कठिन हुन्छ । तसर्थ सरकारले संक्रमित क्षेत्रबाट हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्नुपर्दछ ।

- लकडाउनलाई परिणाममुखी बनाउन बिभिन्न चरण अपनाउनु पर्ने हुन्छ । मान्छेको भीडभाड कम गर्ने उपायहरु अपनाउनु पर्दछ । मजदुरलाई आबासीय रुपमा काममा लगाउनुपर्छ । परिक्षणको दायरा ब्यापक रुपमा बढाउनु पर्छ । बिज्ञहरुको टास्क फोर्स बनाउनु पर्छ ।

- कोरोना संक्रमण नियन्त्रणको माइको म्यानेजमेन्ट हुन सकेको छैन । विपदको बेलामा सम्पूर्ण जनता, सरकार, पार्टी तथा मेडिया एकजुट भएर काम गर्नुको बिकल्प छैन । सबैका दृष्टिकोणलाई मानव जीवनको रक्षार्थ सदुपयोग गर्नु पर्दछ ।

- हामी नागरिक बिना काम घर बाहिर निस्कने नगरौं । घरबाहिर जाँदा अनिबार्य रुपमा मास्क, चस्मा, पंजा तथा आउटर लगाउने गरौँ । साबुनपानीले पटकपटक हात धुने गरौँ । न्युनतम २ मिटरको व्यक्तिगत दुरी कायम गरौँ।

- नेपालमा अहिलेसम्म १ जना संक्रमित पनि गम्भीर भएको अवस्था छैन । एक जनालाई पनि आइसीयुमा राख्नुपरेको छैन । एक जनालाई पनि भेन्टिलेटरमा राख्नु परेको छैन । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । तसर्थ डर नमानौं, सतर्क बनौं । बलियो आत्मबलले कोरोना भाइरसलाई परास्त गर्न सक्षम हुनेछ ।

 

प्रकाशित मिति: : 2020-05-12 22:30:34

प्रतिकृया दिनुहोस्