भारतमा कोरोना संक्रमितको संख्या साढे ७१ हजार नजिक, महाराष्ट्रमा हजारभन्दा बढी प्रहरीमा पुष्टि

भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ७१ हजार पुग्न लागेको छ।

भारतीय स्वास्थ्य विभागका अनुसार मंगलबार साँझसम्म ७१ हजार ४४१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेला परेको छ।

सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४०१ व्यक्ति संक्रमित रहेका छन् भने यीमध्ये दुई हजार ३१० व्यक्तिको संक्रमणपछि मृत्यु भएको छ। 

 भारतमा कोरोना भाइरस संक्रमणको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पनि उल्लेख्य  रहेको छ। मंगबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन्।

महाराष्ट्रमा काेराेना संक्रमित प्रहरीको संख्या एक हजारभन्दा बढी

भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट संक्रमित प्रहरीकाे संख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले जानकारी गराएको छ।

मंगलबार आएको रिपोर्टमा थप २२१ प्रहरी संक्रमित भएका भेटिएको छ। आजसम्म एक हजार सात प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने सातको मृत्यु भएको छ। 

संक्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन्। संक्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७९६ जना प्रहरी जवान रहेका छन्।

यसैबीच, महाराष्ट्रमा महामारीको स्थितिबारे बुझ्न प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्य मन्त्रीसँग भिडियोमार्फत कुराकानी गरेका थिए। मुख्यमन्त्री उद्धव थाक्रेले प्रधानमन्त्री मोदीसँग संघीय (केन्द्र)सरकारबाट थप सहयोगको लागि माग गरेको बताए।
 

प्रकाशित मिति: : 2020-05-12 22:25:55

प्रतिकृया दिनुहोस्