भारतीय दूतावास घेराउ गर्न पुगेका राप्रपासम्बद्ध युवा/विद्यार्थी पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

राप्रपा सम्बद्ध युवा विद्यार्थीहरुले नेपाली भूमिमा भारतले हस्तक्षेप र अतिक्रमण गरेको भन्दै मंगलबार विरोध प्रदर्शन गरेका छन्।

लैनचौरस्थित भारतीय दूतावास बाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ। भारतले नेपाली भूमिबाट सडक निर्माण गरेको भन्दै भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्दा युवा/विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए। 

उनीहरुले लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो, भारतीय सेना फिर्ता जाउ, नेपाली भूमि मिच्न पाइँदैन,भारतीय विस्तारवाद मुर्दावाद, विदेशी हस्तक्षेप मुर्दावादलगायतका नारा लेखेका प्लेकार्ड  बोकेर विरोध जनाएका थिए।

प्रहरीले उनीहरुलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखेको छ। पक्राउ पर्नेमा राप्रपा नेतृ कुन्ती कुमारी शाही, सरस्वती लामा, प्रकाश रिमाल, महेश सिंह, मणि सिंखडा, कैलाश कटुवाल, शशी भण्डारी, निराजन बम, जगदिश राजभण्डारी, जनक फडेरा, सन्तोषी शाही, हिक्मत कार्की, गुणराज राजभण्डारी, अभिषेक अधिकारी र विशाल राउतलगायतका विद्यार्थी तथा युवाहरु रहेको नेता बर्तौलाले जानकारी दिए।

ट्विट गर्दै राप्रपा अध्यक्ष कमल थापाले पक्राउ गरिएकालाई तत्काल रिहा गर्न माग गरेका छन्। अध्यक्ष थापाले सामाजिक सन्जालमा लेखेका छन्‚ ‘नेपाली भूमी अतिक्रमणको विरुद्धमा राप्रपा आबद्ध भातृ संगठनहरुले गरेको प्रदर्शनमा प्रक्राउ परेका सबैलाई तत्काल रिहा गरियोस्। राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षाका लागि राप्रपा सदैव प्रतिबद्ध रहनेछ।’
 

प्रकाशित मिति: : 2020-05-11 21:20:15

प्रतिकृया दिनुहोस्