सप्तरीमा कोरोना संक्रमित युवकको गाउँलाई सिल गरिएको छ। डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिल गर्ने निर्णय गरिएकाे हाे।
सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले संक्रमित युवालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गर्ने निर्णय पनि गरेकाे जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिए।
लकडाउनको समयमा गत वैशाख ९ गते घर आएका युवकमा सोमबार कोरोना संक्रमण देखापरेको छ। चितवनबाट आएलगत्तै डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ३ स्थित कन्तचन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो। उनको वैशाख २८ गते घर पठाइएको थियो।
उनका परिवारसहित उनका सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गरिने प्रवक्ता ठाकुरले बताए।
उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति, उनका परिवारजनसहित सम्पर्कमा आएका अन्य सबै व्यक्तिको स्वाब परीक्षण गरिने उनको भनाइ छ।