विश्वमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ। विज्ञहरुले कोरोना भाइरसबाट संक्रमित हुनेको वास्तविक संख्या अहिले थाहा भएभन्दा धेरै रहेको कुन सक्ने बताएका छन्। उनीहरुले वास्तविक संख्या थाहा पाउन परीक्षणको दायरा बढाउनु पर्नेमा जोड दिएका छन्।
कोरोना संक्रमणको परीक्षणको दायरा बढाउन नसक्नु र संक्रमितको सत्य तथ्य तथ्याङ नदिनुले संक्रमणको जोखिम अझै उच्च रहेको विज्ञले चेतावनी दिएका छन्।
अहिले पनि दिनहुँ कोरोनाको संक्रमणका कारण नागरिकको ज्यान जाने गरेकोले जोखिम उच्च नै रहेको विज्ञलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
स्पेन, इटाली, फ्रान्ससहितका देशमा दैनिक ज्यान गुमाउनेको संख्या कम हुँदै गएको छ। तर लकडाउन खुकुलो पार्न थालिएकाले फेरि संक्रमण फैलने सक्ने जोखिम रहेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन्।
इटालीमा ३० हजार ३९५, स्पेनमा २६ हजार ४७८ तथा फ्रान्समा २६ हजार ३१३ जनाको ज्यान गएको छ।
याेसँगै विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ७९ हजार भन्दा बढी पुगेको जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ।
विश्वमा अहिलेसम्म कम्तिमा ४० लाख २० हजार ८ सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १३ लाख ९ हजार भन्दा धेरै छ। अमेरिकामा ७८ हजार ७ सय भन्दा बढीको ज्यान गएको छ।