कोरोना विपत, सशस्त्र र अव्यवस्थित अन्तर्राष्ट्रिय पहरा

कैलालीको १ सय १ किलोमिटर भारतसँग जोडिएको अन्तर्राष्ट्रिय सीमामा कोरोना संत्रासबीच महत्वपूर्ण पहरा दिइरहेको सशस्त्र प्रहरीलाई बिहीबार राती बदलिदो मौसमले सतायो।

हौसलापुर घाटको ४ सय २५ नम्बर सीमा स्तम्भ नजिकको. पोष्ट र भजनीको गुलरियाघाट पोष्ट हावाहुरीले उडायो। ४३ वटा अस्थायी पोष्ट र १ सय १ वटा ड्युटी पोष्ट बनाएर आपतका बेला खटेका ६ सय ४० सशस्त्र फौजको रातभरी बिजोग भयो।

कञ्चनपुरको १ सय २९ दशमलब ५ किलोमिटर सीमामा ५ वटा स्थायी पोष्ट मार्फत २३ युनिट बनाई १ सय वटा ड्युटी पोष्टबाट निगरानी गरिरहेका सशस्त्र प्रहरीको हालत पनि कैलालीकै जस्तो रह्यो।

कञ्चनपुरस्थित सशस्त्र प्रहरी वल नेपाल ३५ नं बटालियन शैलेश्वरी गण प्रमुख बीरबहादुर शाहु भन्छन्–‘यो पाली मौसमले सताउन थालेको धेरै भयो, हावा हुरी आउँछ। त्रिपाल उडाउँछ, पानी पर्छ, भिजाउँछ फेरि साथीहरु त्रिपाल ठिक पार्छन। ड्युटीमा खट्छन। देशलाई परेको वेला एउटा जिम्मेवार फौजले गाह्रो भयो भनेर पनि त भएन?’ 

कञ्चनपुरमा पनि ६ सय जनाको सशस्त्र फौज कोरोना संन्त्रासपछि सीमामा निगरानी गर्दै आएका छन्। सुरक्षाको हिसाबले जिल्लाका आन्तरिक सीमा त महत्वपूर्ण हुन्छन् भने अन्तर्राष्ट्रिय सीमा महत्वपूर्ण नहुने कुरै भएन। ‘हामीसँग जे छ। त्यसको भरपुर प्रयोग गर्दै सीमामा खटेका छौं’, शाहु भन्छन्।

साधारण सुविधाका वावजुद यो विपत्तिमा मुलुकभरिको खासगरी भारतीय सीमामा उभ्याएको सशस्त्र प्रहरीको यो व्यथा देशभरि कै हो। 

सशस्त्र विद्रोहबीच जन्मेको मुलकको कान्छो जत्थालाई दुई दशकसम्म सीमामा आधुनिक र व्यवस्थित बनाएर तैनाथ गर्न नसक्नुको दोष हालसम्मका शासकहरूले लिनुपर्ने हुन्छ। 

विश्व महामारी घोषित कोरोनाले नै अन्तर्राष्ट्रिय सीमामा फौजको अवस्थिति, निगरानी र व्यवस्थित र आधुनिक व्यवस्थापन कति आवश्यक रहेछ भन्ने कुरा शासकले बुझेनन् भने सीमामा सल्बलाइरहेको कोरोना भाइरसलाई  आमन्त्रण दिए जस्तै हुने अवस्था विद्यमान छ।  

कञ्चनपुरको संवेदनशील मानिने महाकाली पारीको नेपाल दोधारा चाँदनीमा डिएसपी लोकेन्द्र भट्ट ३७ किलोमिटर भारतीय सीमामा १ स्थायी र ४ अस्थायी पोष्टबाट ३२ वटा डयुटी पोष्ट बनाई खटेका छन्। 

कोरोना त्रासमा भारतमा फसेका सर्वाधिक नेपाली मजदुर यही बाटो नेपाल पसेका थिए। अहिले भने त्यो क्रम घटेको छ।
सशस्त्र विद्रोहकै बेला नेपाली सीमामा आएको भारतीय फौज एसएसबी (शसस्त्र सीमा वल) ले आफ्नो रणनीति अनुरुप २० वर्षमा नेपाली सीमाका हरेक पाँच किलोमिटरमा आधुनिक बोर्डर आउट पोष्ट बनाएर बसिसक्दा नेपाली सीमामा त्यस्तो किन हुन सकेन  र आपतको वेला काम लागेको सशस्त्र प्रहरी किन त्रिपाल मुनि बस्न बाध्य छ? जवाफ छैन होला दुई दशक यो मुलुक हाकेकाहरूसँग।

मुलुकलाई अहिले कोरोनाको सबैभन्दा ठूलो जोखिम भारत र उस्को सीमाबाट नै भएको वेला सरकारले बेलैमा आफ्नो सीमा र फौजलाई व्यवस्थित गर्न नसकेको भने छर्लंग छ। 

कोरोना काल सकिन अझैं लामो समय लाग्ने विज्ञले भनिरहेको बेला आगामी दिनमा लामोे समयसम्म भारतीय सीमामा निगरानी आवश्यक छ। ५३ हजार संक्रमित र १५ सय मृत्युको आँकडा नजिक पुगेको भारतको कोरोना संक्रमणस्थिति भयावह छ। 

नेपाल छोएका उत्तराखण्डबाहेक उत्तर प्रदेश, बिहार र पश्चिम बंगाललगायत कञ्चनपुर नजिकैको भारतीय राजधानी दिल्लीमा  हरेक दिन नयाँ संक्रमित थपिदै गएका छन्।

यो वर्तमानस्थितिलाई सरकारले अन्तर्राष्ट्रिय सीमामा आधुनिकीकरण  र व्यवस्थित निगरानीको आवश्यकता महसुस गरेर अवसरको रुपमा लिने हो भने ३७ हजारको संख्यामा रहेका सशस्त्र प्रहरीलाई चन्द्रसूर्य झण्डावाल बोर्डर आउट पोष्ट बनाउनु भनेको कुनै महाभारत पनि होइन। 

जहिले टाउको दुखाइको विषय रहँदै आएको भारतसँगकोे खुला सीमालाई व्यवस्थित र आधुनिकीकरण गर्ने बेला पनि यही नै हो। हरेक वर्ष कुरा नमिल्दा फ्रिज हुने बजेट सीमाको व्यवस्थापनमा खर्च गर्ने हो भने पहाड खस्दैन र सीमा पनि आधुनिक र प्रविधिमैत्री बनाउन सकिन्छ।

भारतको एक देश एक फौज रणनिति अनुरुप खडा गरिएको एसएसबी नेपालमा भएको विद्रोहअघि स्पेशल सर्भिस ब्युरोका नाममा आफ्नो देशका लागि जासुसी गर्दथ्यो। सन १९६३ मा संरचनामा आएको एसएसबी नेपाल र भुटानदेखि तिब्बत सीमासम्म सक्रिय छ। 

नेपालमा दुई दशकअघि भएको आन्तरिक रक्तपातका बेला नेपाली सीमामा व्यवस्थित रुपमा सक्रिय भएको एसएसबीको नाम फेरेर सशस्त्र सीमा वल राखियो। 

सशस्त्र विद्रोहपछि नेपाललाई व्यवस्थित रुपमा घेर्ने रणनीति अनुरुप काम गरेको एसएसबीले आफ्नो लक्ष्य प्राप्त गरिसकेको छ। कोरोना कालमा समेत भारतीय मिडियालाई भ्रममा पारेर नेपालविरुद्ध कल्पित खबर दिन पनि ऊ पछि परेन।

वार्षिक ८ सय लाख अमेरिकी डलर आन्तरिक खर्च गर्ने एसएसबीका ९४ हजार २ सय ६१ जना सदस्य खास गरी नेपाल र भुटानको सीमामा सक्रिय छन्।

अहिलेको अवस्थामा सीमामा काम गरिरहेका सशस्त्र प्रहरीका अधिकारीको सीमापारी भारतीय झण्डा मुनि आधुनिक बोर्डर आउट पोष्ट बनाएर बसेको देख्दा नेपाली सैनिकको मन नकुँडिने हैन तर उनीहरूलाई त्यो व्यक्त गर्ने अधिकार छैन। 

अहिले पनि एसएसबीको संख्या, सक्रियता तथा व्यवस्थित अवस्थिति नेपालको तुलनामा प्रचुर छ। अहिले पनि उसले गर्ने अनेकौ ‘प्रोपोगाण्डा’ तिर नएर हेर्ने हो भने एसएसबीले नेपालको तुलनामा अत्याधुनिक र व्यवस्थित भएर काम गर्दै आएको सत्य हो।

हामीले भने हाम्रो सीमामा पछिल्ला दुई दशकका ठूला भनिएका राजनैतिक परिवर्तनपछि केही पनि गरेका रहेनछौं भन्ने कुराको महसुस कोरोना आएपछि गराइदिएको छ।

काठमाडौंस्थित हेडक्वाटरमार्फत सञ्चालन हुने सशस्त्रको अवस्था अन्तर्राष्ट्रिय सीमालाई छोडने हो भने देशभित्र गर्विलो संस्थाको रूपमा स्थापित छ। सातवटै प्रदेशमा र काठमाडौंमा गरी हेडक्वाटरअन्तर्गत ८ बिग्रेडमार्फत बटालियन र कम्पनीका रूपमा मुलुकका ३६ वटा महत्वपूर्ण जिल्लामा सशस्त्रको अवस्थिति छ। 

एउटा फौजलाई चाहिने तालिम केन्द्र, कलेज हुँदै स्कुलसम्म यो संस्थामा अटाएका छन्। विपत व्यवस्थापनमा अग्रस्थान रहने सशस्त्रको अप्ठ्यारो अवस्थामा काम लाग्ने तालिमप्राप्त दस्ता र कल्याणकारी अभियान पनि छन्। अन्तर्राष्ट्रिय शान्ति मिसन पनि सशस्त्र प्रहरीको आकर्षण हो।

छिमेकीसँग तुलना गरेर साध्य नभए पनि अद्र्ध सैनिक वलसँग हुनुपर्ने धेरै प्रविधि, उपकरणदेखि युद्ध सामाग्री, गस्ती र यातायातका आधुनिक संसाधनसँगै  हवाई संसाधनको कमी फौजमा देखिन्छ। २ दशकमा एउटा पनि आपतकालीन उद्धारमा प्रयोग गर्ने आफ्नो हेलिकप्टर सशस्त्रसँग नहुनुले यो फौजलाई शासकले दिएको प्राथमिकता स्पष्ट हुन्छ।

अन्तर्राष्ट्रिय सीमाको व्यवस्थापन पछिल्ला कुनै पनि सरकारको चासोको विषय रहेको देखिदैन। पछिल्ला राजनैतिक परिवर्तनभन्दा पञ्चायतकालमा राजा महेन्द्रले कैलाली–कञ्चनपुरको सीमामा नेपालभरिबाट ल्याएर राखेका नेपालीले विना हतियार नै अहिलेसम्म सीमा सुरक्षा गरेको पाइन्छ। 

राजा महेन्द्रको दूरदर्शीतामा कैलाली र कञ्चनपुरको अन्तर्राष्ट्रिय सीमाको महत्व उतिबेलै झल्किन्छ। सीमामा बेला बेलामा आफ्नो दादागीरी देखाउने एसएसबीका कारण ज्यान गुमाएका पछिल्लो उदारहण कञ्चनपुरका सीमा शहिद गोविन्द गौतम हुन्।

कैलाली ३४ नं बटालियनका गणपती कमल तिमिल्सिनाका अनुसार सीमामा अहिले सम्वन्धित वडा अध्यक्षको मातहतमा रहने गरी सीमा निगरानी समुह बनाएर सर्वसाधारणको सहयोग लिने काम सुरु गरिएको छ। 

‘दसगजा नजिक पुराना संरचना, स्कुललगायत जे छ त्यसैलाई आधार मानेर निगरानी गरिदै आए पनि ठूलो संख्यामा हामीसँगको विकल्प त्रिपाल नै हो। १ सय १ सेन्ट्री पोष्टमध्ये एकबाट अर्को पोष्ट देखिने गरि बनाएका छौं,’ गणपति तिमिल्सिना भन्छन्। 

कोरोनाका कारण मुलुकको सीमा सुरक्षाको सवालमा इतिहासमा पहिलो पटक  यसरी सशस्त्र प्रहरीले भारतीय सीमा घेरेको हो।
सशस्त्र प्रहरी वल प्रवक्ता डिआईजी प्रविन श्रेष्ठका अनु्सार मुलुकभर १ सय ७ स्थायी वोर्डर आउट पोष्ट (बिओपी) थिए। कोरोना संक्रमण आएपछि मात्रै १३ वटा नयाँ थप भएका छन्। 

‘चालु आार्थिक वर्षमा सरकारले १ सय १४ बिओपी थपेर २ सय २१ पुगाउने निर्णय गरे पनि कोरोनाका कारण सुरुवात भएको छैन। सरकारी निर्णय अनुरुप अझैं १ सय १ बिओपी बनाउन आवश्यक छ, जसले सीमामा सशस्त्र प्रहरीको सक्रियतालाई अहिलेको तुलनामा केही सहज पार्ने छ,’ उनले भने।

भारतसँग नेपालको २७ जिल्लामा १ हजार ८ सय ८० किलोमिटर सीमा जोडिएको छ। जसमा १ सय १९ बिओपीअन्तर्गत  कोरोनाकालमा १ हजार २ सय १३ अस्थायी चेक पोष्ट बनाएर सशस्त्रले सीमामा निगरानी गरिरहेको प्रवक्ता श्रेष्ठ बताउँछन्।

सरकारले थप्ने भनेका १ सय १४ बिओपी मध्येमा तिब्बत सीमामा रहेका हिमाली जिल्ला दार्चुला, हुम्ला, मुस्ताङ, रसुवा, सिन्धुपाल्चोक, संखुवासभा र ताप्लेजुङमा ७ वटा बिओपी बनाउने योजना छ।

भारतीय एसएसबीको रणनीति अनुरुप हरेक पाँच किलोमिटरमा एक बिओपी राख्ने हो भने सशस्त्रको योजनामा रहेका १ सय १४ नयाँसहित सम्पूर्ण २ सय २१ बिओपी समेत थोरै पर्न जान्छन्। 

१ हजार ८ सय ८० किलोमिटर भारतीय सीमामा मात्रै ३ सय ७६ बिओपी बनाउन आवश्यक देखिन्छ सशस्त्रले, अनि मात्र सीमामा सुरक्षा भएको आम नेपालीलाई महसुस हुनेछ।

तिब्बतको सीमाभन्दा पनि भारतको सीमा आधुनिकीकरण र व्यवस्थापन र व्यवस्थित आवतजावतको सुरुवात गर्ने योभन्दा उत्तम मौका नेपाली कुटनितिज्ञ, सीमाविद् र रक्षा विशेषज्ञका लागि अर्को आउने छैन।

प्रकाशित मिति: : 2020-05-09 18:00:00

प्रतिकृया दिनुहोस्