आन्ध्र प्रदेशमा केमिकल प्लान्टबाट ग्यास लिक हुँदा मृत्यु हुनेको संख्या १३ पुग्याे, हजार भन्दा बढी बिरामी

बिएल संवाददाता

मुम्बई,हिन्दी ब्यूराे

भारतस्थित आन्ध्र प्रदेश राज्यको विशाखापट्टनममा एक बहुराष्ट्रिय कम्पनीको केमिकल प्लान्टबाट ग्यास लिक हुँदा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार करिब एक हजार मानिसहरु बिरामी परेका छन्। जसमध्ये करिब दुईसय जनालाई अस्पताल भर्ना गरिएको छ।

सरकारी अधिकारीहरुका अनुसार एलजी पोलिमर्स इन्डिया प्रालीको केमिकल प्लान्टबाट स्टाइरिन ग्यास चुहावट भएको हो।

लकडाउनपछि प्लान्टमा काम सुरु भएको थियो। ग्यास चुहावट हुँदा स्थानीय बासिन्दा सुतिरहेका थिए। उक्त जानकारी पाएलगत्तै एम्बुलेन्स, दमकल तथा प्रहरी उक्त स्थानमा पुगेका थिए।

स्थानीय बासिन्दाकाहरुका अनुसार आँखा पोल्ने तथा स्वासप्रस्वासमा समस्या देखिन थालेको छ। विशेष गरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। 

ग्यास चुहावट भएपछि सो क्षेत्रको अवस्था त्रासपूर्ण रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९६१ मा निर्माण भएको सो प्लान्ट हिन्दुस्तान पोलिमर्सको थियो, जसलाई सन् १९९७ मा दक्षिण कोरियाली कम्पनी एलजीले अधिग्रहण गरेको हो।

 

प्रकाशित मिति: : 2020-05-07 21:33:18

प्रतिकृया दिनुहोस्