विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संक्रमणकालको व्यवस्थापन अति सावधानी पूर्वक नगरेमा जोखिम फेरि निम्तिन सक्ने बताएकाे छ।
संक्रमण कम हुँदै गएपछि लकडाउन खुकुलो पार्ने थालेका देशहरुले संक्रमणको यो समयमा सावधानी अपनाउने क्रममा कुनै चुक गरे पुनः संक्रमण बिस्तार हुन सक्ने र लकडाउनको बाध्यता आउने बताएकाे हाे।
बुधबारको ब्रिफिङ्गके क्रममा डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारीबाट मुक्त हुने क्रममा रहेका देशहरु जारी लकडाउन अन्त्य गर्नका लागि देशहरुले चरणवद्ध प्रक्रिया अपनाउनु पर्नेमा जोड दिए।
त्यसका लागि निगरानी बढाउने तथा स्वास्थ्य सेवालाई तयारी अवस्थामा राखिरहनु पर्ने उनले बताएका छन्। ‘देशहरुले संक्रमणकालको व्यवस्थापन सावधानी पूर्वक गरेनन् भने लकडाउन पुनः फर्किने सम्भावना हुन्छ,’डा. टेडरोजले भने।
विश्वको आधा जनसंख्या अहिले कुनै न कुनै प्रकारको लकडाउनमा छन्। तर महामारीबाट अति प्रभावित भएका अमेरिका, इटाली, स्पेनसहितका देशमा लकडाउन खुकुलो पार्ने क्रम सुरु भइसकेको छ।
लकडाउन खुकुलो पार्ने क्रममा सावधानी अपनाउनु पर्नेमा जोड दिएका डब्लुएचओ प्रमुखले सबै देशलाई आफ्नो स्वास्थ्य सेवा बलियो बनाउन लगाउनी बढाउन आग्रह पनि गरेका छन्।
अहिले कोरोना भाइरसबाट विश्वभर ३७ लाख ५३ हजार भन्दा बढी संक्रमित भइसकेका छन्। यस्तै कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ६३ हजार ८ सय भन्दा धेरै पुगेको छ।