विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रबाट कोरोना भाइरस संक्रमित ६ जना सफल उपचारपछि डिस्चार्ज भएका छन्।
अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको दोस्रो र तेस्रो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पतालकी कार्यबहाक मेडिकल सुपरिडेन्डेन्ट संगीता मिश्राले बताइन्।
३१ जना उपचाररत मध्ये ६ जना भारतीय नागरिककाे तेस्रो पटकको स्वाब परीक्षणमासमेत कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका हुन्।
कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद हुन्।
डिस्चार्ज हुने सबैलाई विराटनगर रानीको एक मदरसामा निर्माण गरिएको क्वारेन्टाईनमा राखिनेछ। १० वटा वेडरुम र १० वटा शौचालय भएको सो मस्जिदमा उनीहरुलाई राखिने भएको हो। पहिलो चरणमा अस्पताल भर्ना भएका १३ जनाको स्वाब परीक्षणमा ६ जनाको दोस्रो र तेस्रो पटक नेगेटिभ नतिजा आएकोले उनीहरु कोरोनामुक्त देखिएको थियो।
अन्य संक्रमितको पनि स्वाब परीक्षण भइहरेको छ। दोस्रो र तेस्रो परीक्षणमा नेगेटिभ देखिएकालाई डिस्चार्ज गरिने र पोजेटिभ देखिएकालाई अर्को १४ दिन अस्पतालमै राखिने बताइएको छ।
बुधबार प्रदेश एक का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि एक कार्यक्रम बिच ६ जनालाई पुष्प गुच्छासहित डिस्चार्ज गरेका हुन्।
विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उदयपुरका २८ सहित ३१ जना उपचाररत छन्। तीमध्ये १२ जना भारतीय हुन् । उपचारमा रहेका अन्य २ जना झापाका र १ जना भोजपुरका छन्। उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। ६ जना डिस्चार्ज भएसँगै कोशी अस्पतालको कोरोना अस्पतालमा अब २५ जना उपचाररत रहनेछन्।