चीनको वुहानबाट विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले सामाजिक अभियन्ता महावीर पुनलाई पहिलेको भन्दा निकै व्यस्त बनाएको छ।
उनकै अग्रसरतामा राष्ट्रिय आविस्कार केन्द्रले लकडाउनको सुरूवातमै स्वास्थ्यकर्मीका लागि पीपिई, भेन्टिलेटर तथा कोरोना संक्रमित बिरामीलाई खाना पुर्याउने रोबोटलगाएतका उपकरण बनाएर सम्बन्धित निकायमा बुझाइसकेका छन्। यसका साथै उनले रात दिन कोरोनासँग सम्बन्धित ज्ञान बटुलेर विज्ञको सल्लाह लिँदै नयाँ नयाँ जुक्ति लगाईरहेका छन्।
‘प्युठान जिल्ला नौबहिनी गाउँपालिका वडा नं. ७ र ८ को जनप्रतिनिधिहरूले यो खबर हेरेर केही सहयोग गर्ने हो भने मलाई ९८४१-५९२३--मा तुरून्त फोन गर्नुहोस्,’ भनेर उनले फेसबुक वालमा २२ गते सोमबार एउटा लामो म्यासेज छोडे।
उनले म्यासेजमा उक्त गाउँपालिकाका ४० जना युवाहरू भारतका विभिन्न होटलमा काम गर्ने र चौकिदार गरी डेरामा बस्ने व्यक्तिहरू अलपत्र परेको विषय लेखेका थिए। आफ्नो म्यासेन्जरमार्फत आएको जानकारीका आधारमा उनले त्यहाँ अलपत्र ४० युवा मध्ये १६ जनाको अवस्था नाजुक रहेकोसमेत उल्लेख गरेका छन्।
उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई जो जहाँ छन् त्यही बस्न अनुरोध गर्दै खाने बस्ने खर्चको व्यवस्था कुनै पनि माध्यमबाट व्यवस्था गर्ने भनेर आस्वस्थ पारेका थिए।
उनले यस्तो जानकारी आफ्नो फेसबुक वालमा पोष्ट गरेको केही समयमै पुनः अर्को म्यासेज पोस्ट गर्दै भारतीय रूपैयाँ १ लाख २० हजार रूपैयाँ सापट मागे।
‘कोही नेपाली साहु महाजन वा ब्यवसायीले भारतमा भा.रू. १ लाख २० हजार रूपैंया सापट दिन सक्नुहुन्छ भने मलाई मेसेज गर्नुहोस् अथवा फोन गर्नुहोस्,’ भनेर अर्को म्यासेज छोडे।
उक्त म्यासेजनमा उनले आफूले यसअघि गरेको पोष्टमा गाउँपालिकाले भारतको राँचीमा रहेका आफ्ना नागरिकलाई सहयोग गर्ने जानकारीसमेत राखेका छन्।
उनले आफूले यसअघि राखेको पोष्टमा नौबहिनी गाउँपालिकाका अध्यक्ष शिवराज रिजाल र प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले फोन गरेर ती मजदुरलाई प्रति दिनको भा.रु.२०० का दरले १५ दिनको लागि आर्थिक सहयोग पालिकाले व्यहोने निर्णय गरेको जानकारी गराए।
सोही आधारमा उनले भारतमा रहेका साथीभाइ वा इस्टमित्रलाई उक्त रकम सापटी दिन र पालिकाले आफूलाई दिनेबित्तिकै फिर्ता गर्ने जानकारीसमेत गराएका छन्। ‘भारतमा हुने कोही साहु महाजन वा व्यवसायीले म महाविर पुनलाई विश्वास गरेर भा.रु. १ लाख २० हजार उपलब्ध गराई दिनुहोला। गाउँपालिकाले उक्त रकम उपलब्ध गराएसँगै सहयोग गर्ने दाताको नेपालमा भएको बैंक खातामा जम्मा गर्ने अथवा दाताको परिवारलाई दिने व्यवस्था गर्नेछु’, उनले भने, ‘यदि कुनै कारणबस गाउँपालिकाले पैसा दिन सकेन भने पनि त्यो पैसाको पूर्ण जिम्मेवारी मैले लिनेछु र मैले नै पैसा भुक्तानी गर्नेछु।’
यो सन्देश छोडेको केही समयपछि पुनः पुनले अर्को म्यासेज छोड्दै आफ्नो फेसबुक पोष्टबाट भारतमा अलपत्र परेका नेपाल मजदुरलाई राहत पुगेको जानकारी गराएका छन्।
‘लौ कहानी सुन्नुहोस् र अरू गाउँपालिकाले पनि कोरोनाले गर्दा विदेशमा लकडाउनमा परेर दुःख पाएका आफ्ना बासिन्दालाई यसरी नै सहयोग गर्नुहोस् र आशिर्वाद पाउनुहोस्,’ उनले लेखे।
उनले यो पोष्टसँगै एउटा पैसा पठाएको रिसिप्टसमेत राखेका छन्।
उक्त म्यासेजमा उनले अलपत्र परेका ४० जनाका लागि प्रतिव्यक्ति २०० का दरले १५ दिनसम्म पुग्ने २ लाख २० हजार भारू त्यहाँ कार्यरत चुमान लाल भण्डारीको खातामा बैंलोरका दीपक पन्थीले पठाइदिएको जानकारी दिए। उनले उक्त म्यासेजमा पन्थीले २० हजार दान र बाँकी १ लाख सापटी दिएकोसमेत उल्लेख गरेका छन्।
पन्थीले पठाएको रकम गाउँपालिकाले उपलब्ध गराउनासाथ फिर्ता गर्ने भन्दै नौबहिनी गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतलाईसमेत तुरून्तै निर्णय लिएकोमा धन्यबाद दिए।
यसरी पुनको एउटा स्टाटसले भारतमा अलपत्र परेका ४० जना मजदुरले राहत पाए।