काश्मिर आन्दोलनका तस्वीरलाई ‘पुलित्जर’ पुरस्कार

भारतका तीन जना फोटोपत्रकार विश्वकै प्रतिष्ठित पुलित्जर पुरस्कारबाट सम्मानित भएका छन्।

पुलित्जर पुरस्कार छनोट समितिले भारत सरकारको गत वर्ष ५ अगस्टमा जम्मू–कश्मीरको विशेषाधिकारसँग सम्बन्धित संविधानको धारा ३७० खारेज गर्ने निर्णयपछि कश्मीर उपत्यकामा सिर्जित परिस्थितिमा आधारित उत्कृष्ट तस्बिरहरुका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो।

गत डिसेम्बर ९ मा श्रीनगरमा प्रार्थना गर्दै स्थानीय तस्बिर मुख्तार खान/एपी

भारत सरकारले धारा ३७० खारेजीको विरोधमा कश्मीर उपत्यकामा प्रदर्शन भएका थिए । त्यसो त सरकारले सम्भावित विरोध प्रदर्शनलाई रोक्न धारा ३७० खारेज हुनुअघि नै राज्यमा कफ्र्युमा लगाउने र स्थानीय राजनीतिज्ञहरुलाई पक्राउ गर्ने र नजरबन्दमा राखेको थियो ।

त्यसका बाबजुद पनि स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । कतिपय प्रदर्शनमा हिंसात्मक झडप पनि भएका थिए । र, टेलिफोन र इन्टरनेट सेवा समेत बन्द गरिएको थियो ।

त्यस्तो तनावपूर्ण परिस्थितिमा पनि त्यहाँ रहेका सीमित पत्रकार र फोटोपत्रकारहरुले समाचार र तस्बिरहरु विभिन्न सन्चारमाध्यमका लागि सम्प्रेषण गरेका थिए । र, ती सामग्रीलाई भारतीय मात्र नभएर अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले पनि उच्च प्राथमिकता दिएका थिए । र, अमेरिकी संचार माध्यम एसोसिएटेड प्रेसका फोटो पत्रकारहरु दार यासिन, मुख्तार खान र चन्नी आनन्दले खिचेका तस्वीरहरुले काश्मिरको तत्कालीन अवस्था झल्काएका थिए।

भारत-पाकिस्तान सीमाबाट गतिविधि नियाल्दै बीएसफ जवान तस्बिर : चन्‍नी आनन्द/एपी

उनीहरु तीनै जना जम्मू–कश्मीर निवासी हुन्। पुलित्जर समितिले उनीहरुका तस्वीरहरुलाई सन् २०२० को फिचर फोटोग्राफी विधातर्फ पुरस्कृत गरेको छ। पुरस्कार सोमबार राति घोषणा गरिएको हो।

एपीका सिइओ तथा अध्यक्ष गेरी प्रुटले तीनै जनाको योगदान अभूतपूर्व रहेको भन्दै बधाई दिएका छन्। सन् १९१७ मा स्थापना गरिएको पुलित्जर पुरस्कार हरेक वर्ष विश्वभरका पत्रकारिता, नाटक र संगीतको क्षेत्रमा योगदान पुऱ्याए प्रदान गरिँदै आएको छ।

 

प्रकाशित मिति: : 2020-05-05 11:31:28

प्रतिकृया दिनुहोस्