काठमाडौंमा लकडाउन तत्काल नखुल्ने, अरू जिल्लामा संक्रमणको अवस्था हेरिने

आगामी लकडाउनको खाका तयार गर्न कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समितिको बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई निर्देशन गरेको छ।

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको हो।

बैठकले भोलि मंगलबारसम्म समितिमा खाका पेश गर्न भनेको छ। सोही सुझावको आधारमा मन्त्रिपरिषद् बैठकमा अन्तिम सुजाव पेश हुनेछ।

अवस्था र सुरक्षा सतर्कता हेरी अन्य ठाउँलाई खुलाउने/कडा बनाउने तयारी गरे पनि तत्काल काठमाडौंलाई भने ‘हाइरिस्क’ मै राखिने बैठकमा सहभागी एक मन्त्रीले बिएल नेपाली सेवालाई जानकारी दिए।

यसैबिच सरकारले लकडाउन खुकुलो बनाउने तयारी छ। ठाउँको अवस्था हेरेर ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याइने छ।

काठमाडौंको हकमा भने ग्रीन जोन मै परे पनि तत्काल लकडाउन नखुलाउने भएको छ।

यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को जोखिमका आधारमा हरियो, पहेँलो र रातो क्षेत्र निर्धारण गर्ने मापदण्ड बनाएको छ।

पछिल्लो पटक थपिएको लकडाउनको अवधि अब तीन दिन बाँकी छ । साथै आइतबार मात्र २६ गतेबाट सुरु हुने गरी संघीय संसदको बजेट अधिवेशन आह्वान गरिएको छ। त्यसैले २५ वैशाखपछि लकडाउन केही खुकुलो हुने अनुमान छ ।

जोखिमयुक्त क्षेत्र कसरी घोषित गर्ने ?

छलफलमा मन्त्रालयका अधिकारीहरुले हरियो, हेलो र रातो क्षेत्र मार्किङ गर्ने अहिलेसम्मको तयारीबारे जानकारी गराएको छ । त्यसका केही सूचक बनाइएको छ ।

न्युन जोखिमयुक्त (हरियो) समूहमा पर्ने अवस्थाका सूचकहरु

– पोजेटिभ केस नदेखिएको

– पोजेटिभ केससँग सम्पर्कमा आएको व्यक्ति नभएको

– एउटा व्यक्ति पनि क्वारेन्टाइनमा नभएको

– एउटा पनि व्यक्ति आइसोलेसनमा नभएको

– सामान्य जोखिमयुक्त (पहेलो) समूहमा पर्ने अवस्थाको सूचकहरु

– पोजेटिभ केस (पीसीआर र आरडीटी) नभएको

– पोजेटिभ व्यक्तिको सम्पर्क देखिएको एक वा एकभन्दा कम

– क्वारेन्टाइनमा रहेको एक वा सोभन्दा कम

– विदेशबाट आएको व्यक्ति एक जना वा सोभन्दा कम

उच्च जोखिम (रातो) समूहमा पर्ने अवस्था

– पोजेटिभ केस एक वा सोभन्दा बढी भएको

– संक्रमित व्यक्तिको सम्पर्कमा रहेको व्यक्तिहरुको परीक्षणमा रहेको

– क्वारेन्टाइनमा रहेको संख्या एकभन्दा बढी

– विदेशबाट आएको संख्या एकभन्दा बढी

अति उच्च जोखिम (गाढा रातो) समूहमा पर्नेहरु

– जनस्वास्थ्य सेवा ऐन २०७६ को दफा ४८ (४) अनुसार जनस्वास्थ्य आपतकाल घोषणा भएको

– समुदायस्तरमा संक्रमणदर अति उच्च रहेको

– समुदायस्तरमा जनस्वास्थ्यका मापदण्डहरु पालना नभएको

– स्वास्थ्य संस्थाहरुको केशभार थेग्न नसक्ने अवस्था सिर्जना भएको

– निषेधाज्ञा जारी नै गर्नुपर्ने अवस्था सिर्जना भएको

मन्त्रालयले लकडाउन खुकुलो पारेको वा हटाइएको अवस्थामा सार्वजनिक स्थानहरूमा पालना गर्नुपर्ने मापदण्ड पनि बनाएको छ। 

- सबै सार्वजनिक स्थल तथा भवनहरूमा हात धुने साबुन र पानीको व्यवस्था गर्नुपर्ने ।

- सार्वजनिक भवन प्रवेश गर्दा अनिवार्य साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाउने र अनुगमन गर्ने ।

- कम्तीमा १ मिटरको दुरी अनिवार्य रूपमा पालनालाई व्यापक प्रबर्द्धन र अनुगमन गर्ने ।

- खोक्दा वा हाछ्यु गर्दा रूमाल वा टिस्यु पेपरले मुख छोप्ने । यो सम्भव नभएमा कुहिनोको प्रयोगलाई प्रवर्द्धन गर्ने ।

- रूघाखोकी वा कुनै श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरूले सकभर अरूको सम्पर्क नआउने, आउनै परेको खण्डमा अनिवार्य रूपमा मास्क प्रयोग गर्ने । कपडाको मास्क पनि प्रयोग गर्न सकिनेछ, यस प्रकारको मास्क प्रयोग गरे पश्चात् साबुन पानीले राम्ररी धोएपछि मात्रै पुनः प्रयोग गर्नु पर्ने ।

- अत्यावश्यक सेवा प्रदान गर्नु पर्ने कार्यालयहरू लगायत अन्य क्षेत्रमा हुने कार्य निरन्तरताका लागि सकेसम्म भर्चुअल प्लाटफर्म प्रयोग गर्ने।

- व्यक्तिहरूको शारीरलाई छोएर सेवा दिनु पर्ने (जस्तैः स्वास्थ्य सेवा) अवस्थामा सेवा प्रदायकले अनिवार्यरूपमा मास्क, पञ्जा लगाउने व्यवस्था मिलाउने र साबुन पानीले हातधुने व्यवस्था मिलाउने ।

- कुनै पनि सार्वजनिक स्थानमा ७ जनाभन्दा बढी मानिसहरु भेला नहुने र हुनैपर्ने अवस्था भएमा स्थानीय निकायको स्वीकृति लिएर कम्तीमा १ मिटरको दुरी कायम गर्ने र सकभर मास्कको प्रयोग गर्ने व्यवस्था मिलाउने ।

- सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्थामा एक पंक्तिको सिटमा एकजना मात्रै रहने व्यवस्था मिलाउने, स्यानिटाइजरको व्यवस्था गर्ने र सबैले मास्क प्रयोग गर्ने व्यवस्था मिलाउने ।

- एक जिल्लाबाट अर्को जिल्लामा अत्यावश्यक ढुवानी र अत्यावश्यक सार्वजनिक कार्यका लागि मात्रै आवतजावतको अनुमति दिने र सवारी साधनहरूमा रहेका व्यक्तिहरूको स्क्रिनिङ गर्ने र सवारी साधनको निर्मलीकरण गर्ने व्यवस्था मिलाउने ।

- कृषि उत्पादनले समग्र अर्थतन्त्र र जनजीवनमा विशेष महत्व राख्ने भएकाले कृषि उत्पादनका कार्यलाई प्रमुख प्राथमिकता साथ सजगता तथा यस पत्र उल्लेखित मापदण्डहरू अनिवार्यरूपमा पालना गरी संचालन गर्ने व्यवस्था मिलाउने । यसको अनुगमनस्थानीय जनप्रतिनिधिले गर्ने ।

 

कृषि तथा उत्पादन क्षेत्रका लागि थप मापदण्ड

- प्रत्येक दिन बिहान कार्य आरम्भभन्दा पहिला अनिवार्य रूपमा इन्फ्रारेड थर्मोमिटरबाट ज्वरो जाँच गर्ने ।

- १०० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएमा काममा नलगाउने ।

- खोकी वा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई काममा नलगाउने र आवश्यक निदान, उपचार वा आरामको व्यवस्था मिलाउने ।

- उत्पादन क्षेत्रले काम गर्ने कर्मचारी र अन्य स्टाफहरूलाइ अनिवार्य रूपमा सोही उद्योग भित्र आवासको व्यवस्था मिलाउने र सकभर बाहिर भ्रमणमा रोक लगाउने ।

- कार्यस्थलमा कम्तीमा १ मिटरको दुरी कायम गर्ने र स्थानीय प्रशासनले नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने ।

खानपानको व्यवस्थामा विशेष सावधानी अपनाउने र प्रयोग गरिएका भाडाहरू सुरक्षित रूपले सफा गर्ने र राम्रो सँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने।

- स्नानघर र शौचालयलाई नियमित रूपमा सरसफाइ गर्ने र ज्वरो आएका व्यक्तिहरूका लागि छुट्टै व्यवस्था गर्ने, सो सम्भव नभएमा निजले प्रयोग गरे पश्चात राम्रो सँग साबुन पानीले सफा गरी पुनः प्रयोग गर्नु पर्नेछ ।

प्रकाशित मिति: : 2020-05-04 17:37:24

प्रतिकृया दिनुहोस्